गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको आयोजनामा चरिकोटमा वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणका विषयमा पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
तिन जिल्लाका पत्रकारहरुलाई लक्षित गरी चरिकोटमा आयोजित कार्यक्रममा गौरिशंकर संरक्षण क्षेत्रले हालसम्म गरेका गतिविधि, उपलब्धि र आगामी रणनीतिका विषयमा पत्रकारहरूसँग छलफल गरिएको हो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना र नेपाल पत्रकार महासंघ दोलखाको समन्वयमा आयोजित कार्यक्रममा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका करिब ४० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचनले संरक्षण क्षेत्र स्थापनाको १६ वर्षको अवधिमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन, पर्यटन प्रवद्र्धन र कला–संस्कृतिको संरक्षणलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार संरक्षण क्षेत्रले नर्सरी स्थापना, सिँचाइ, नगदेबाली प्रवद्र्धन, मौरीपालन, पर्यटकीय पदमार्ग निर्माण तथा सरसफाइ, जलवायु परिवर्तनसम्बन्धी जनचेतना, विपद् व्यवस्थापन, अध्ययन–अनुसन्धान तथा संरक्षणसम्बन्धी तालिम, गोष्ठी र अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजना सिन्धुपाल्चोक इलाकाका प्रमुख प्रवेश पौडेलले वन्यजन्तु र मानवबीचको सम्बन्धका विषयमा जानकारी गराउनुभयो । वन्यजन्तुलाई आक्रमण र क्षतिसँग मात्र जोडेर हेर्ने प्रवृत्ति रहेको भन्दै उहाँले वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा स्थानीय समुदायको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।
