
जिरी । दोलखाको जिरी नगरपालिकाले नगर क्षेत्रभित्रका व्यवसायी तथा करदातालाई सहज रूपमा करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले प्यान नम्बर वितरण सेवा सुरु गरेको छ ।
जिरी नगरपालिकाबाटै प्यान नम्बर प्राप्त गर्न सकिने भएपछि नगरवासीलाई व्यवसाय तथा व्यक्तिगत प्यान नम्वर लिन आन्तरिक राजस्व कार्यालय सम्म धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि व्यवसाय सञ्चालन तथा कर दर्तासम्बन्धी प्रक्रियामा समेत सहजता आउने अपेक्षा गरिएको जिरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजकुमारी खत्रीले जानकारी दिनुभयो ।
नगरपालिकाले स्थानीय व्यवसायी, उद्यमी तथा करदातालाई कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्दै आवश्यक प्रक्रिया पूरा गरी प्यान नम्बर लिन आग्रह गरेको छ । प्यान नम्बर व्यवसाय तथा आयसँग सम्बन्धित विभिन्न सरकारी प्रक्रिया पूरा गर्न आवश्यक पर्ने भएकाले नगरपालिकाबाटै सेवा उपलब्ध गराउँदा नागरिकलाई समय र खर्च दुवै बचत हुने नगरपालिकाले अपेक्षा गरेको छ ।
यसअघि प्यान नम्बर लिनका लागि सम्बन्धित राजस्व कार्यालयमा पुग्नुपर्ने अवस्था रहेकामा अब स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि विशेषगरी ग्रामीण क्षेत्रका व्यवसायी तथा सेवाग्राहीलाई थप सुविधा पुग्ने भएको छ ।
नगरपालिकाले प्यान नम्बर वितरणसँगै स्थानीय कर प्रणालीलाई व्यवस्थित बनाउने, करदाताको विवरण अद्यावधिक गर्ने तथा नगरपालिकाको राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने लक्ष्य समेत लिएको जनाएको छ ।
नगरपालिकाका अनुसार प्यान नम्बर लिन चाहने सेवाग्राहीले आवश्यक कागजातसहित सम्बन्धित शाखामा सम्पर्क गरी प्रक्रिया पूरा गर्न सकिने छ ।
