दोस्रो यात्रा हो देउढुंगा

जीवन लामा

घुम्ने भनेपछि मलाई न बारले छेक्छ, न कामले । नयाँ ठाउँको प्रस्ताव आउने बित्तिकै क्यामेराको व्याग बोकेर कुदि हाल्छु । साइत जुराउन थाल्यो भने कहीपनि गईदैन होला जस्तो लाग्छ । मेरै साथीहरुसँग पटक पटक साईत जुराउनले मैले धेरै ठाउँहरु मिस गरेको छु । मौसमअनुसार खिच्नुपर्ने फोटोहरु खिच्न पाएका छैन । तसर्थ मेरो आफ्नै सिद्धान्त ठीक लाग्छ । मन लाग्यो कि हिडिहाल्ने । कसैबाट प्रस्ताव आयो कि ओके भनिहाल्छु । मलाई खासै ट्रेकिङ सामानको आवश्यकता पर्दैन । २ दिनजत्ति हल्का पानीसम्म पिउन पाए बाँचेको आधार धेरै छ । हिड्न अलि गाह्रो हुन्छ ।

हिउँदमा पुगेको थिए देउढुंगा । खासै सोचेजस्तो फोटो पाएन । खोजेको त चिटिक्क खुलेको भए अझ राम्रो । वर्षायाममा त्यहाँ फोटो खिच्न जान झनै गाह्रो । ठाडो उकालो । हिलो बाटो । जुकाको खानीनै छ जस्तो लाग्छ । जंगलले ढाकेको । तातो पानी समेत पिउन पाउने होटल, घरहरु छैनन् । बेलुकी बास बस्ने ठाउँ समेत छैन । यी सबै सम्झिदा मलाई दोहोर्याएर जान मन लागेको थिएन । एक पटक पुगेको छदैछ जस्तो लागेको थियो । म २०७३ सालमा पुगेको थिए त्यहाँ । आलम्पूबाट तीनपोखरी, बौलाहपोखरी, याटीको दरबारहुँदै देउढुंगा झरेको थिए । त्यत्तिनै बेला उकालो सम्झेर पुनः जाने इच्छा मरेको थियो ।
साउन २ गते मोवाईलमा घण्टी बज्यो । यसो हेरेको मोहन दाईको रहेछ । फोन उठाए, भोलि देउढुंगा हिड जीवन भन्नुभयो । ६ वर्षअघिको उकालो सम्झे , हैट डिड्न सक्दिन होला जस्तो लाग्यो । म जान्न होला हो दाई, हिड्नै सक्दिन । तर कता कता मनमा लोभ पलाउन थाल्यो । यतिबेला बादल देउढुंगाको वरिपरी घुम्दै होला । रंङ्गीबिरङ्गी फूलहरु झपक्कै फुलेका होलान । हरियो बुटाहरुमा बादलको घुम्टोले ढपक्कै छोपिदा क्या दामी फोटो कैद गर्न पाईन्छ कि भन्ने भित्रभित्रै लोभ लाग्न थाल्यो । उकालो हिड्दा हिड्दै मरेको रेकर्ड त छैनन नि जस्तो लाग्यो । घरिघरि घुम्न जाउँ भन्ने ध्रुवजीलाई पनि जानको लागि तयार हौ भने । उहाँ पनि नाम्दूबाट चरिकोट आउनु भयो । ३ गते बिहान ८ बजे जाने तयारी भयो । वर्षमा एक पटक ४, ५ दिनको ट्रेकिङ हिडेकै केटो हो जस्तो लाग्यो । खासै तयारी गर्नुपरेन । क्यामेरामा ब्याट्रि फुल चार्ज थियो । एक जोर लुगा बोकेर सातदोबाटो चोकबाट गाडिमा हुईकियो । गाडिमा मोहन दाईको भाउजुलगायत सपरिवार रहेछन् । मिलिजुली अगाडि बढ्यौ । कटुवाचौरमा गएर खाना खायौ । आजको बास विगुमा होमस्टेमा थियो । बोलेरो गाडीमा सररर आमाटोल खोलासम्म पुगियो । त्यहाँबाट उकालो हिड्नुपर्ने रहेछ । झोलातुम्बी बोकेर उकालो लागियो । विगु बसपार्क पुग्न करिव खोलाबाट २ घण्टा लाग्यो । गौरीशंकर संरक्षण क्षेत्रले होम स्टे सञ्चालनमा ल्याएको रहेछ । हामी २ गाडीमा गरी १६ जना थियौ । म र ध्रुवजी चिनेको कान्छा (ङिमापाल्देन) शेर्पा दाईको कटोरोमा बास बस्यौ । खाना भने सबै सँगै ।


भोलिपल्ट बिहान खाना खाएर ८ बजे उकालो लागियो । धु्रुवजी र म अगाडि लाग्यौ । किन कि भूकम्पपछिको गुम्बाको अवस्था बुझ्ने इच्छा, चाहना पनि थियो । तर, बाहिर गेटमै कोभिड १९ को कारण बाह्य मान्छेहरुलाई प्रवेशमा रोक रहेछ । तर पनि स्थानीय दाईहरुलाई आग्रह, अनुरोध गरेपछि छिर्न दिनुभयो । ६,७ क्लिप फोटो हाने । नेपालकै पहिलो आनी उत्पादन गर्ने पुरानो गुम्बा । हाल धमाधम पुनर्निर्माण कार्य भईरहेको रहेछ । आनीहरु कक्षमा पढ्न जान हातमा किताब च्यापेर दौडिरहेका थिए । केही रिपोर्टिङ गर्न पाईएन । कोही सम्बन्धित मान्छेहरु भेट्न सकेन ।

यस विगु टसिगच्छल गुम्बाबाट केही तेस्रो बाटो हिडेपछि वडाकार्यालयले निर्माण गरेका सिढीनै सिढी उकालो चढे । स्थानीय सरकारको देखिने काम मान्नुपर्छ सिढी निर्माण । नत्र अधिकांश ठाउँमा सडकबाहेक यस्ता बाटो भेटिन मुस्किल छ । आजको मौसम सफा भएकाले मज्जाले उकालोमा फोटो खिच्दै खिच्दै अगाडि बढियो । ठाउँ ठाउँमा खोलानाला, झरनाले मन सितल बनाउथ्यो । चराचुरुङ्गीको चिचावटले भोक प्यासै मेटाउथ्यो । ठाउँ ठाउँमा उचाई, ठाउँको नाम र एरो चिन्हहरु राखिदिएका भए अझ वडा कार्यालयलाई धन्यवाद दिन सकिन्थ्यो । अधिकांश ठाउँमा झक्किने बाटोहरु थिए । हुन त बाटो बाठाहरुले मात्र बनाउने हो जस्तो लाग्छ ।


बिहान ढिला हिडेकाले होला । बासमा पुग्न नपाउदै मज्जाले गोद्यो पानीले । जीउ लुथ्रुक्कै भयो । खुट्टामा कुनै ठाउँ खाली थिएन जुकाले माया नगरेको । हुन त अहिले चाईनीज विधि आको छ रे जुकालाई टोकाएर उपचार गर्ने । त्यही सम्झिदै टोकाए जुकालाई । देउढुंगाको बासमा पुग्न करिव आधा घण्टा बाँकी रहेछ । हुस्सुले केही देख्दैन थियो । पानीले झपक्कै पारेर छाता ओढेको ओढै । त्यही बेला बाटो भुसुक्कै भुलेछ । करिव आधा घण्टा तेस्रो बाटो हिड्नुपर्यो । फर्किदा आधा घण्टा । बासमा पुग्दा अलिअलि रात परिसकेको थियो ।

बेलुकीको बास अविस्मरणीय ठान्नुपर्छ । खानेकुरा त परै जाओस, तातो पानी समेत पिउन पाएन । सुत्ने त परै जाओस खुट्टा समेत पर्सान पाएन । रातभर जागो बसेको पहिलो यात्रा ठान्दछु । यो पनि एउटा छुट्टै अनुभव मान्नु पर्छ ।


बिहान उज्यालो भयो । पानीले आज खासै आकाश खुलेन । जताततै बादलले ढाकेको थियो । यत्रो दुःख गरेर आएको खेर गयो भनी मनमनै सोच्न थाले । केही समयपछि १५ मिनेट जत्ति खुल्यो । यही बेला अलि माथि गएर भटाभट फोटो हाने । केही फोटोहरु चित्त बुझ्दो थियो । केही घोरेर नियाले विश्वविख्यात कलाकारले कोरेरको चित्रभन्दा कम थिएन । मोवाईलमा भिडियो र क्यामेरामा फोटोहरु धेरै कैद गरे । सिमसिम पानी र भोकको खासै वास्ता लागेन । क्यामेरा भिजेको पनि खासै मतलब राखेन । म राम्रो फोटोको खोजिमा थिए । राम्रा फोटो खिच्न पाउदा त्यही फोटोले अघाउछु म । अनि ९ बजेपछि ओरालो लागियो । ३ घण्टाको हिडाईमा विगु आईपुगियो । यस ठाउँ धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले धेरै अगाडि हो जस्तो लाग्यो । काठमाडौको धराहराभन्दा कम थिएन ठडिएका देउढुंगा । टुइनटावरभन्दा कम लागेन मलाई देउढुंगा । न अरवौ खर्च लाग्यो । न कसैले भ्रष्टाचार गर्नुपर्यो । प्रकृतिले स्वत दिएको वरदान ३५ सय मिटर उचाई देउढुंगा । जय देउढुंगा ।