दोलखा महोत्सवले सजियो चरिकोट बजार : पुष १३ गते प्रधानमन्त्री प्रचण्डले महोत्सवको उदघाटन गर्ने

दोलखा उद्योग वाणिज्य संघले आयोजना गर्न लागिरहेको बृहत दोलखा महोत्सवको लागि चरिकोट बजार सजिएको छ ।

यही पुस १३ देखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटमा आयोजना हुने १० दिने महोत्सवको लागि विभिन्न ठाउँहरुमा प्रवेशद्धारा निर्माण गरिएको छ भने चरिकोट बजार सजाउँदै महोत्सवको सवै तयारी पुरा भएको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । पुष १३ गते देखि सुरु हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले बताउनु भयो । पर्यटन, कृषी, उर्जाको प्रचुर संभावना भएको दोलखाको अर्थतन्त्र चलायमान र बृद्धी गराउनको लागि उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड दोलखा आउनु लाग्नु भएको हो ।

महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रवद्र्धन गर्ने गरी १ सय ५० वटा स्टल राखिने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । स्टलमा विशेष गरी सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समुहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन सामग्री लगायत प्रदर्शनीका लागि राखिने छ, भने विभिन्न खानाका परिकारहरु स्टलमै उपलब्ध गराइने छ ।

काठमाण्डौबाट नजिकै रहेको बागमती प्रदेशको सुन्दर हिमाली जिल्ला दोलखाले आर्थिक क्रान्तिका आधारहरु तय गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा सिंगो राष्ट्रमाझ उभ्याउदै आर्थिक विकासमा फड्को मार्ने विश्वास आयोजकको रहेको छ । दोलखा महोत्सवको दिव्यदृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ भन्न नारासहित आयोजना गर्न लागिएको हो । महोत्सवको उद्घाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाति, भाषाभाषिका कला संस्कृति समेटिएको झाँकी प्रदर्शनका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ भने चरिकोट टुडिखेलदेखि भ्यूटावरहँुदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिता, विद्यालयस्तरीय प्रतियोगिताहरु सञ्चालन गरिने छ । दोलखालाई लगानीमैत्री जिल्लाका रुपमा विकास गर्ने यस संघको उद्धेश्य रहेको छ । पर्यटन, कला संस्कृति, जलस्रोत तथा कृषि क्षेत्रमा धनी दोलखाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागिरहेको महोत्सव सफल पार्न र दोलखाका चरिकोट बजार, जिरी र पर्यटकीय स्थलहरु दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, च्छोरोल्पा हिमताल, विगु गुम्बा, रोल्वालिङ उपत्यका, हनुमन्तेडाँडा, चेर्दुङ लगायतलाई थप प्रचार प्रसारमा सहयोग गर्न सबै समक्ष उद्योग वाणिज्य संघ दोलखाले आग्रह गरेको छ ।