दर्पण संवाददाता
चरिकोट, पौष २५
दोलखाको कालिन्चोक भगवती मन्दिरमा र्दशन गर्नका लागि आएका एक जना दर्शनार्थी महिलाको मृत्यु भएको छ ।
दोलखाको प्रशिद्ध धार्मिक स्थल कालिन्चोकमा दर्शन गर्न आएका मकवानपुर जिल्ला फापरवारी वस्ने ३३ वर्षिय सम्झना रोक्का मगरको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दर्शन गर्न कालिन्चोकको कुरी वजार पुगेको र सामान्य विरामी भई मन्दिर जान नसकी कुरी स्थित संगिता होटलमा आराम गरी वसेको वेला एक्कासी वेहोस भए पश्चात उपचारको लागि चरिकोट ल्याइएको थियो । वेहोस भई आज विहान सांढे १० वजे चरिकोट ल्याइएको रोक्का मगरको साँढे ११ बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो । शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक अन्जन कोइरालाले बताउनु भयो ।
