आङदावा शेर्पाले जिते कालिञ्चोक लोकतारा सिजन २ को उपाधी

दर्पण संवाददात
भदौ ७, चरिकोट
लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले कालिञ्चोक सामुदायिक एफएम दोलखाले आयोजना गरेको कार्याक्रम कालिञ्चोक लोकतारा सिजन २ को उपाधी आङदावा शेर्पाले हात पार्नु भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भएका आङदावा शेर्पाले उपाधि सँगै नगद २९ हजार ३ सय ३ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
आज एफएमले एक समारोहका विच प्रतिस्पर्धाका माध्यमबाट लोकतारा छनोट गरेको हो । प्रतियोगितामा दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ७ कि विविता श्रेष्ठले दोस्रो स्थान हासिल गर्नुभएको छ । श्रेष्ठलाई नगद १९ हजार २ सय २ रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा गौरिशंकर गाउँपालिका वडा नम्बर ८ खारेका गोकुल श्रेष्ठले तृतीय स्थान हासिल गर्नुभएको छ । श्रेष्ठलाई नगद ९ हजार १ सय १ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । विजयी प्रतियोगिलाई दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पुरस्कार प्रदान गर्नुभयो ।
जेठ ११ गतेबाट रेडियोले साप्ताहिक रुपमा कालिञ्चोक लोकतारा कार्यक्रम सुरु गरेको थियो । कालिञ्चोक लोकतारा २ का प्रतिस्पर्धीहरुले पुर्वेली गीत, काठे गित र पश्चिमेली गीत प्रस्तुत गरेका थिए ।

सोहि अवसरमा प्रतियोगीता निर्णायक मण्डल संयोजक केशवराज चौलागाई, सदस्य तेन्जीङ शेर्पा लामा र सदस्य शिवहरी पोखरेललाई प्रशंसा पत्रले सम्मान गरिएको छ । त्यसैगरि वाद्यवादन टोलीका कृष्ण उप्रेति, सुन्दर प्रकाश चौलागाई, श्रीकृष्ण बस्नेत, सीताराम खरेललाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले लोक संस्कृतिको संरक्षणका लागी यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले लोप हुँदै गएको लोक संस्कृतिको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा कालिन्चोक सामुदायीक एफएमकी कार्यक्रम प्रमुख गायत्री आचार्यले कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो ।

कालिन्चोक सामुदायीक एफएमका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिन्चोक लोकतारा सिजन १ मा तृतीय हासील गर्नुहुने सुजन दहाल, प्रतिस्पर्धि कविन्द्र खड्का, लोकगायक कृष्ण वानिया, शक्ति थामी लगाएतले गीत प्रस्तुत गरेका थिए ।

लोक संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागी हराएका, ओझेल परेका, लजाएका, लुकेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने उद्धेश्यका साथ कालिञ्चोक लोकतारा २ आयोजना गरिएको हो ।  यस अघि कालिन्चोक एफएमले आयोजना गरेको कालिन्चोक लोकतारा सिजन १ को विजेता यमकुमार थामी रमण, विमाकुमारी अनुरागी द्धितीय र सुजन दहाल तृतीय बन्नुभएको थियो ।