‘संविधानको सफलता प्रभावकारी कार्यान्वयनबाट पुष्टि हुन्छ’ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता यसको घोषणामा मात्र नभई प्रभावकारी कार्यान्वयन र नागरिकले दैनिक जीवनमा त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाबाट पुष्टि हुनुपर्ने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शनिबार हेटौँडामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले नागरिकले सार्वजनिक कार्यालयबाट सहज र प्रभावकारी सेवा पाउने, समाजमा न्याय र सुरक्षा सुनिश्चित हुने तथा युवाका लागि शिक्षा र रोजगारीको अवसर सिर्जना हुनुपर्ने बताउनुभयो ।

उहाँले किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने, उद्यमीका लागि अनुकूल वातावरण बन्ने र विपन्न नागरिकका लागि राज्यको संरक्षण सुनिश्चित हुने अवस्था नै संविधान कार्यान्वयनको वास्तविक उपलब्धि भएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री थापा मगरले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता तथा सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई साझा चुनौतीका रूपमा औँल्याउनुभयो । यस्ता समस्या आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो । प्रदेश सरकार नागरिक र सङ्घीय संरचनाबीचको महत्त्वपूर्ण सेतु रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन, आवश्यक कानून निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले ती सम्भावनाको सदुपयोगसँगै तीव्र सहरीकरण, वातावरणीय प्रदूषण, विपद् जोखिम, क्षेत्रीय असमानता र सार्वजनिक सेवामाथिको बढ्दो मागजस्ता चुनौतीलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

संविधान जारी भएपछि सङ्घ, प्रदेश र स्थानीय तहसहितको सङ्घीय शासन प्रणाली संस्थागत भएको तथा तीनै तहमा जनप्रतिनिधिमूलक संस्था सञ्चालनमा रहेको उहाँले उल्लेख गर्नुभयो । नागरिकका धेरै सेवा स्थानीय तहसम्म पुगेको र प्रदेशहरूले आफ्नो आवश्यकता तथा विशेषताअनुसार नीति, कानून, योजना तथा कार्यक्रम निर्माण गरिरहेको उहाँको भनाइ थियो ।

समारोहका क्रममा मुख्यमन्त्री थापा मगरले हालैको जलप्रलयमा ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायको दुःखमा बागमती प्रदेश सरकार साथमा रहेको बताउनुभयो ।

विपद्का समयमा खोज, उद्धार, उपचार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, स्थानीय तह, जनप्रतिनिधि, स्वयंसेवक, निजी क्षेत्र, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, अत्यावश्यक सेवा सञ्चालन, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा नागरिकको जीविकोपार्जन पुनःस्थापनाका लागि सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्लाभका कामलाई प्राथमिकताका साथ अघि बढाइने मुख्यमन्त्री थापा मगरले बताउनुभयो ।