एमाले दोलखाको अगुवा कार्यकर्ता भेला चरिकोटमा सम्पन्न

दोलखा । नेकपा एमाले दोलखाको आयोजनामा अगुवा कार्यकर्ता भेला सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ।

नेकपा एमाले दोलखाका कार्यवाहक जिल्ला अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमाले दोलखाका पार्टी इन्चार्ज पार्वत गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

भेलामा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा स्थानीय तहसम्म पार्टी संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको पार्टी सचिव सोयमबहादुर खड्काले बताउनुभयो। सहभागी अगुवा कार्यकर्ताहरूले पार्टीको संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा स्थानीयस्तरका समसामयिक विषयमा समेत धारणा राखेका थिए। पार्टी निर्माणका लागि स्थानीयस्तरका कार्यकर्ताहरूको भावना समेटी माथिल्लो कमिटीहरूले जनभावनाअनुसार काम गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला पार्टी इन्चार्ज पार्वत गुरुङले आम नागरिकका भावनालाई सम्बोधन गर्ने गरी पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभयो। पार्टी निर्माणका लागि तल्लो तहसम्म संगठनलाई चलायमान बनाएर लाग्न उहाँले कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। इन्चार्ज गुरुङले पार्टीको नीति, विचार र संगठनलाई थप मजबुत बनाउन अगुवा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसीले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको सन्दर्भमा देशको रक्षा र विकासका लागि नेकपा एमाले नै अग्रणी पार्टी भएको बताउनुभयो। गलत मनसायले एमालेमाथि गरिने प्रहारको प्रतिकार गर्न उहाँले कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।

नेकपा एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले दोलखामा पार्टीको अवस्था तथा सञ्चालन भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभयो। उहाँले भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेहरूप्रति समवेदना प्रकट गर्दै जिल्लाबाट बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा मृतकका परिवारलाई राहत र सहयोगको काममा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।

भेलामा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, पालिका कमिटीका पदाधिकारी, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

भेलामा जिल्ला तथा पालिका तहका पार्टी कमिटी र जनवर्गीय संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै संगठन विस्तार र सुदृढीकरणमा जोड दिइएको थियो।