जिल्ला समन्वय समिति दोलखामा गठबन्धनको उम्मेदवार निर्वाचित

चरीकोट, १ असार : जिल्ला समन्वय समिति दोलखाको प्रमुख लगाएत सवै पदहरुमा गठबन्धन निर्वाचित भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश उप्रेतीलाई पराजित गर्दै समन्वय प्रमुखमा नेकपा माओवादीका वर्जुराम घतानी निर्वाचित हुनुभएको हो ।

गठबन्धनको तर्फबाट विजयी वन्नुभएका घतानीले ११ मत प्राप्त गर्नु भएको थियो भने नेकपा एमाले ऋषिकेश उप्रेतीले ७ मत प्राप्त गर्नु भएको थियो । दुई नगरपालिका र सात गाउँपालिका गरी ९ स्थानीय तह रहेको दोलखामा जिल्ला समन्वय समितिमा १८ जना मतदाता रहेका थिए । समन्वय समितिको उप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा एमालेका गोमा खड्कालाई पराजित गर्दे ११ मत सहित निर्वाचित हुनुभएको छ । सदस्य पदहरुमा समेत सवै गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । विजयी हुने सदस्यहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा रहेका छन् ।

हालका पदाधिकारी तथा सदस्यको कार्यकाल सकिएसँगै जिसस प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि आज निर्वाचन भएको हो । ९ पदका लागि १९ जनाको उम्मेदवारी दर्ता भएको थियो । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा प्रमुस उपप्रमुख सहित ७ जना एमालेले, ६ जना काङग्रेसले ४ जना माओवादी र १ जना समाजवादीले जितेको थियो ।