जिल्ला प्रहरी कार्यालय दोलखाले नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिक उत्सवको अवसरमा चरिकोटमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी श्रीमती संघको वार्षिक उत्सवको अवसरमा सातदोवाटोमा आयोजना गरिएको खुल्ला रक्तादान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र पशुपती चौलागाई स्मृती अस्पतालको प्राविधिक सहयोगमा आज आयोजित रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी सहित विभिन्न क्षेत्रका स्वयंसेवी रक्तदाताले रक्तदान गरेका हुन् । कार्यक्रममा पुरुष ३० जना र महिला ४ जनाले रक्तदान गरेका छन् ।
जिल्लामा रगतको अभावलाई मध्यनजर गर्दै मानवीय सेवाको उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाको अध्यक्षता तथा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रक्तदानसँगै निःशुल्क स्वास्थ्य शिविर र शुद्ध खानेपानीको व्यवस्था गरिएको कार्यक्रमले नेपाल प्रहरी श्रीमती संघको वार्षिक उत्सवलाई सामाजिक सेवासँग जोडेको आयोजकले जनाएको छ ।
