दोलखा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बुधवारबाट प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालनुभएको छ ।
खोटाङ जिल्लाबाट सरुवाभई दोलखा आउनुभएको प्रमुख जिल्ला अधिकारी कडेलले बुधवारबाट जिल्लाको कार्यभार सम्हाल्नुभएको हो । जिल्लामा विहिवार संचारकार्मीहरुसंग जिल्लाको समसामयीक विषयमा छलफल गर्नुहुँदै शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । नागरिकले सुरक्षित र शान्त वातावरणको अनुभूति गर्ने गरी काम गर्ने उहाँको पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो । जिल्लामा उहाँ दोस्रो महिला सिडियोको रुपमा आउनुभएको हो । यस अघि दोलखा जिल्लामा अम्विका केसीले प्रमुख जिल्ला अधिकारीभएर काम गरी सक्नु भएको छ ।
प्रजिअ कँडेलले हत्या, हिंसा तथा अशान्ति फैलाउने गतिविधि नियन्त्रणसँगै जिल्लामा सुशासन कायम गर्न सक्रिय हुने बताउनुभयो । लामो समयदेखि रोकिएका विकास आयोजनाको अवस्था बुझ्ने, सरकारी कार्यालयका सेवा प्रवाहको अनुगमन गर्ने तथा सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन समन्वय गर्ने उहाँको भनाइ छ ।
प्रजिअ कँडेलले विकास आयोजनाको प्रगति, सार्वजनिक सेवा प्रवाह, बजार अनुगमन, विपद् व्यवस्थापन तथा नागरिकका गुनासा सम्बोधनमा समेत आवश्यक समन्वय र अनुगमन गर्ने बताउनुभयो । आफ्नो अधिकारक्षेत्रभित्र रहेर सरकारी निकायबीच समन्वय गर्दै जिल्लाको समग्र प्रशासनिक सुधारमा ध्यान दिने उहाँले बताउनुभयो ।
आज दोलखाका पत्रकारसँगको भेटघाटमा प्रजिअ कँडेलले जिल्लाको समग्र अवस्था, समस्या र प्राथमिकताबारे जानकारी लिनुभएको थियो । पत्रकारलाई जिल्लाको वस्तुस्थितिको महत्वपूर्ण स्रोतका रूपमा उल्लेख गर्दै उहाँले आगामी दिनमा पत्रकारसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो । भेटघाटमा पत्रकारहरुले जिल्लाको सुशासन, विकास निर्माण, सेवा प्रवाह तथा देखिएका बेथितिका विषयमा प्रजिअ कँडेलको ध्यानाकर्षण गराएका थिए ।

