आगामी निर्वाचनको लागि दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन आयोग नेपालको निर्देशनअनुसार दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ३, चरिकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

दोलखामा आगामी निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । कार्यालयको उदघाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत न्यौपानेले दोलखा जिल्लामा शान्तिपुर्ण रुपमा निर्वाचन गराउनको लागि आफुप्रतिवद्ध रहेको र त्यसको लागि साथ सहयोग गर्न सवै निकायलाई आग्रह गर्नु भयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यका साथ आवश्यक तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेले बताउनु भयो । साथै सरोकारवाला निकाय, सुरक्षा निकाय, राजनीतिक दल तथा सञ्चारकर्मीहरूसँग समन्वय गरी निर्वाचन प्रक्रिया प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।

कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचनसम्बन्धी सम्पूर्ण कानुनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य औपचारिक रूपमा सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन, उजुरी व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन सामग्री व्यवस्थापन तथा सुरक्षा समन्वयलगायतका कामहरू सञ्चालन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटनमा सहभागी रहनुभएका नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जिल्लामा जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गराउनका लागि आफुप्रतिवद्ध रहेको र साथ सहयोग गर्ने उहाँले बताउनुभयो । नेपाली काङग्रेसका सभापती वर्मा लामाले आगामी निर्वाचनले जनताको प्रतिनिधि छनोट गर्ने महत्वपूर्ण अवसर भएकाले समन्वय र सहकार्य गदै निर्वाचन सम्पन्नको लागि सहयोग गर्नु पर्ने बताउनुभयो ।