कर्मचारीलाई कोभिड भएपछि शैलुङ र तामाकोशी गाउँपालिकाको आकस्मिक वाहेक अन्य सेवा वन्द

दर्पण संवाददाता
चरीकोट, ६ माघ ः कार्यालयका कर्मचारीहरुमा तिव्र गतिमा कोरोना संक्रमण फैलिदै गए पछि दोलखाको दुई गाउँपालिकाले आकस्मिक सेवा वाहेक अन्य सेवाहरु वन्द गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका र शैलुङ गाउँपालिकाले आकस्मिक सेवा वाहेक पालिका बाट प्रदान गरीने अन्य सेवाहरु कोभिडका कारण वन्द गरेको जनाएको छ । जिल्लाको तामाकोशी र शैलुङ गाउँपालिकाको कार्यालयमा कार्यारत कर्मचारीहरुमा नयाँ भेरीयन्ट सहितको कोभिड देखिएको छ । शैलुङ गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा कोभिड सम्वन्धी मिल्दोजुल्दो लक्षण सहित केही कर्मचारी विरामी परे संगै स्वाव परिक्षण गर्दा आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । हाल सम्म पालिकामा दर्जन भन्दा वढि कर्मचारीहरुलाई कोरोना देखा परि सेकेको र समुदाय स्तरमा समेत तिव्र गतिमा संक्रमित वढदै गएको कारण आकस्मिक सेवा वाहेक अन्य सेवाहरु ७ देखि माघ १३ गते सम्मका लागि एक हप्ता वन्द गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले बताउनु भयो । त्यस्तै जिल्लाको तामाकोशी गाउँपालिकामा पनि कर्मचारीलाई कोरोना देखिएको छ । कर्मचारीलाई नै कोरोना देखिए पछि अन्यलाई समेत सर्न सक्ने र समुदायमा फैलन सक्ने भन्दै आज देखि एक हप्ताको लागि कार्यालयले आकस्मिक सेवा वाहेक अन्य सेवा वन्द गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत निमेश मिश्रले बताउनु भयो ।

दोलखा जिल्लामा आज सम्म नयाँ भेरियन्ट सहितको ओमिक्रोन कोरोना ६६ जना पुरुष र ४५ जना महिला गरी एक सय एघार जनामा देखा परि सकेको छ । पछिल्लो समय जिल्लामा तिव्र गतिमा संक्रिमतहरु वढदै गएको छ । आज जिल्लाको विभिन्न पालिकाहरुमा ५१ जनाको परिक्षण गर्दा ३४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कोभिड नियन्त्रणका लागि प्रशासनले थप कडाई गरेको छ । भिडभाड हुने सवै कार्यक्रमहरु जिल्लामा वन्द गरिएको छ भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनका लागि सवैलाई आग्रह गरेको छ ।