दोलखाको श्यामामा भालुको आक्रमणबाट एक बृद्ध गम्भीर घाइते

दर्पण संवाददाता
जिरी, १८ कार्तिक

दोलखाको जिरी नगरपालिका वडा नम्वर १ मा आज विहान जंगली भालुले आक्रमण गर्दा एक जना गम्भीर घाइते भएका छन् ।

आज विहान करिव ६ वजेको समयमा घर नजिकै बारीमा गएका जिरी नगरपालिका वडा नम्वर १ च्यवुके का ७४ बर्षिय पदम बहादुर खड्कालाई भालुले आक्रमण गरेको जिल्ला निरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो । वारीमा हालो जुवा लिन जाने क्रममा एक्कसी भालुले आक्रमण गरेको खड्काको घाँटी टाउको मुख मा गहिरो चोट लागेको छ । आक्रमणमा परी गम्भीर घाइते भएका खडकालाई जिरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ रिफर गरीएको छ ।