किस्मा थामी/चरिकोट : दोलखामा प्रहरीले बरामद गरेको ११ किलो सुन तस्तरी प्रकरणमा अनुसन्धान गरी प्रहरीले अनुसन्धान प्रतिवेदन आज सार्वजनीक गरेको छ ।
जिल्ला प्रहरी कार्यलय दोलखामा आज पत्रकार सम्मेलनको आयोजना गरी सुन तस्करी प्रकरण सम्वन्धमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान व्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनीक गरेको हो । दोलखा जिल्लाको चिन संग सिमा जोडिएको उतरी नाकाको प्रयोग गर्दै दोलखा भित्रिएको ११ किलो सुन सहित सुन कारोवारमा संलग्न केहि व्यक्तिहरुलाई दोलखा प्रहरीले गत असोज १० गते पक्राउ गरेको थियो । दोलखाको नाका हुँदै ठुलो परिमाणमा सुन तस्करीहुने गरेको तथ्य वाहिरिए संगै केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान व्युरो र प्रहरीले करिव २ महिना लगाएर अनुसन्धान गरेको थियो । दोलखा प्रहरी प्रमुख डिएसपी दिपक खड्काका अनुसार दोलखा नाकाहुँदै एक वर्षको अवधीमा सुन तस्करी गर्ने समुहले करिव ३३ किलो सुन ओसारपसार गरेको पाइएको बताउनु भयो ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा विदेशी नागरीक सहित सुन तस्करीका मुख्य नाइके र सहयोगीहरु गरी प्रहरीले १५ जनालाई पक्राउ गरी सकेको छ भने केहि व्यक्तिहरु अझै फरार रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरीले सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान गर्दा चिनबाट लुकाई छिपाई ६ पटकमा ३१ करोड ११ लाख ७० हजार चार सय छयालिस रुपैया बराबरको ३३ किलो ग्राम सुन दोलखा नाका हुँदै नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।
सुन तस्करी समुहले सुन खरिद वापतको रकम किप्टो करेन्सी, डलर, डिजिटल वालेट बाट भुक्तानी गरेको पाईएको छ भने यार्सा गुम्वा तथा कस्तुरीको विना समेत पठाउने गरेको पाइएको छ । तस्करीहरुले विभिन्न ठाउँबाट डलर साटी सुन खरिद वापत काटुनमा प्याक गरी विभिन्न व्यक्तिहरु मार्फत डलर पठाउने गरेको समेत पाइएको छ । सुनको अवैध पैठारीमा संलग्न रहेको उनिहरुले अपराधिक संगठित सञ्जाल क्रिप्टो करेन्सि तथा १२ वटा डिजिटल वालेटको प्रयोग गरी विगत १ बर्षमा दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार ५ सय ९३ युनिट यु एस डि टि को कारोबार गरेको अनुसन्धानले देखाएको छ । किप्टो करेन्सी एक यूनिटको नेपालमा १३३ रुपैयाँ सम्म कारोवार हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रिय अनुसन्धान ब्युरो सिआइबिका अधिकारी सहितको संयुक्त टोलीले ११ किलो सुन दोलखाबाट र अनुसन्धानको क्रममा ५ सय ३२ ग्राम सुनको गहना बरामद गरेको थियो । हाल उक्त अवैध पैठारी भइ आएको सुन नेपाल राष्ट्र बैंक टक्सार विभाग बबरमहल काठमाण्डौमा बुझाइएको छ । प्रहरीले सुन तस्करिमा संलग्न व्यक्तिहरुबाट १८ लाख ३३ हजार ५ सय नगद, १ थान मोटरसाइकल, १ थान स्कुटर बरामद गरेको हो भने उनिहरुको नाममा विभिन्न बैंकमा रहेको ३१ लाख ७४ हजार ६ सय ६५ रुपैया रोक्का राखेको छ ।
प्रहरीले सुन प्रकरणका मुख्य नाइके चिनिया नागरिक ग्याङ रु र चिनिया नागरिक आकर लामा सहित १५ जनालाई प्रकाउ गरेको हो । जसमा सुन मगाउने र व्यवस्थापन गर्ने ३ जना, सुन काठमाण्डौ पुरयाउने ३ जना, दोलखामा सुन व्यवस्थापन गर्ने ३ जना, सुन बेचविखन गर्ने २ जना, सुन खरिद गर्ने २ जना, सुनको भुक्तानि बापत युएसडिटि दिने १ जना र सहयोगी १ जनालाई पक्राउ गरेको हो । सुन तस्करीमा संलग्न १२ जना अझै फरार रहेको र उनिहरुको खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
उनिहरु उपर भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ र मुलुकि अपराध संहिता २०७४ को दफा ४३ को एकिकृत कसुरमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।
