तामाकोशी गाउँपालिकाका सबै विद्यालय १५ गते भित्र सञ्चालनमा आउने

दर्पण संवाददाता
जफे, मंसिर १२

दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित सबै सामुदायिक विद्यालयहरु आगामि सोमबारबाट नियमित सञ्चालन हुने भएका छन् ।

गाउँ शिक्षा समितिको निर्णय अनुसार गाउँपालिकाले मंसिर १५ गतेभित्र सबै विद्यालय सञ्चालन गर्ने भएको हो । विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण सुरुवात नै हुन नसकेको शैक्षिक सत्रलाई खेर जान नदिन स्वास्थ्य सूरक्षा मापदण्डको पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले विद्यार्थी संख्याका आधारमा आधारभूत तहका विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने तथा माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएका विद्यालयहरुलाई भने आफ्नो विद्यार्थी संख्याको चापलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरी एउटा कक्षामा २५ जना सम्म विद्यार्थीहरु राखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । गाउँपालिकाले विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापहरुसँग छूट्टाछुट्टै छलफल गरी उपयुक्त राय र सुझावका आधारमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा शाखा प्रमुख मेनुका बास्कोटाले जानकारी दिनु भयो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन विद्यालयहरुलाई आवश्यक पर्ने मास्क, स्यानेटाइजर, हात धुने साबुन लगायतका सामग्रिहरु गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।

यसअघि पटक पटक विद्यालय सञ्चालनमा तदरुपता देखाई रहेको तामाकोशी गाउँपालिकाले केन्द्र सरकारको निर्णय तथा महामारि फैलन सक्ने सम्भावनालाई ख्याल गर्दै वैकल्पिक विधिबाट शिक्षण सिकाई सहजिकरण गर्दै आइरहेको भएपनि अव भने नियमित कक्षा सञ्चालन गर्न लागेको हो । विद्यालयमा विद्यार्थिहरुको भौतिक दुरी कायम गर्न तथा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउने उदेश्यले गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै विद्यालयका दुई दुई जना शिक्षकहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना सम्बन्धी आधारभूत प्रशिक्षण समेत दिने भएको गाउँपालिकाले जनाएको छ ।