दर्पण संवाददाता
चरिकोट, ९ फागुण
नेपाली सेनाको तारा दल गणले सेना दिवसको अवसरमा दोलखाको चरिकोटमा रहेको गौरिशंकर वाल गृहका अनाथ बालबालिकाहरुलाई खाद्यन्न सामग्री वितरण गरेको छ ।
दोलखामा रहेको तारा दलगणले सेना दिवस २०७६ तथा महाशिवरात्रीको अवसरमा बालगृहका बालबालिकाहरुलाई खाद्यन्नका सामग्रीहरु वितरण गरेको हो । नेपाली सेनाको तारादल गण चरिकोटले अनाथ बालबालिकाहरुका लागि चामल १०० केजी, दाल १० केजी, गेडागुडी १० केजी, चिनी १० केजी, चियापती ३ केजी, नुन ५ केजी, तेल ५ लिटर गरी करिव २० हजार वरावरको खाद्यान्न सामग्री वितरण गरेको तारा दल गणका सेनानी प्रकाश जिसीले बताउनु भयो ।
दोलखाको चरिकोटमा रहेको गैरिशंकर वाल गृहमा हाल देशका विभिन्न क्षेत्रका ३० जना बालबालिकाहरु वस्दै आएका छन् । सानैमा आमाबुवा गुमाएका ६ वर्ष देखि १६ वर्ष उमेर सम्मका ३० जना बालबालिका बालगृहमा वस्दै आएको बालगृहका प्रमुख एमबहादुर थापाले बताउनु भयो । बालगृहमा रहेका बालबालिकाहरुलाई राइजीङ स्टार वोडिङले ८ जना र अन्य २२ जनालाई गौरिशंकर वोडिङ स्कुलले ५० प्रतिशत छुटमा पठाउदै आएको छ ।
तारादल गणले सेना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । गत ७ गते राष्ट्रसेवक र जिल्लाबासी विच मैत्रिपुर्ण भलिवल प्रतियोगिताको समेत आयोजना गरेको थियो ।