स्वर्ण लिपी बहुमुल्य पुरातात्विक बैद्ध ग्रन्थ सहित ३ जना पक्राउ

दर्पण संवाददाता
चरिकोट, १८ असोज

दोलखा प्रहरीले बहुमुल्य स्वर्ण लिपि पुरातात्विक अष्टसहस्रिका प्रज्ञापारमिता ग्रन्थ सहित तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा न ३ का शिवहरी थापा, सोहि वडा निवासी टेक बहादुर थामी र उद्धब गौतम रहेका छन् । छालामा सुनको अक्षरले लेखिएको बुद्ध धर्म सम्बन्धी पुरातात्विक महत्वका पुस्तकका पानाहरु विक्री वितरणको लागि बोकी हिंडेको भन्ने गोप्य सुचनाको आधारमा संकाष्पद मानिसलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनिहरु पक्राउ परेको दोलखा प्रहरी प्रमुख बासुदेव पाठकले बताउनु भयो ।

उनिहरुको साथबाट स्वर्ण लिपी ४९ पाना बहुमुल्य अष्टसहस्रिका प्रज्ञापारमिता ग्रन्थ फेला परेको छ । उक्त पुस्तक पुरातत्व विभागमा अनुसन्धानको लागि पठाएको र पुरातत्व विभागले बहुमुल्य पुरातात्वक वस्तु भएको बताएको छ । पुरातत्व विभागले २२ सेन्टिमिटर लम्वाई र ६ सेन्टिमिटर चौडाई भएको उक्त ग्रन्थको १ पानाको करिव ४० हजार पर्ने जनाएको प्रहरीले बताएको छ ।

पुरातात्व विभागले खुलाखा गरे अनुसार उक्त ग्रन्थको मुल्य १९ लाख ६० हजार पर्ने बताईएको छ । पुरातात्वक महत्व रहेको उक्त ग्रन्थ काहाँबाट दोलखा आई पुगेको र कुन ठाँउको भन्ने बारेमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।