दर्पण संवाददाता
चरिकोट, ६ असोज
बालबालिका र किशोरीहरु विरुद्ध हुने यौनजन्य हिंसा विरुद्धको १५ दिने विशेष अभियान दोलखामा आज बाट सुरु भएको छ ।
बालबालिका र किशोरीहरुमा हुने यौनजन्य हिंसा घटाउनको लागि जिल्ला प्रहरी कार्यालय दोलखाले फाइट व्याक प्रहरी, साथमा छ भन्ने अभियान आजबाट संचालन गरेको छ । अभियानमा ५ वर्ष देखि १८ वर्ष उमेर सम्मका विभिन्न विद्यालयमा अध्यानरत बिधार्थीहरुको सहभागिता रहेको छ । यौनजन्य हिंसा विरुद्धको विशेष अभियानमा प्रहरी जिल्लाको विभिन्न विद्यालयमा गएर बालबालिका तथा किशोरीहरुलाई यौनजन्य हिंसाबाट बच्ने तरिकाको वारेमा सिकाइने दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेब पाठकले बताउनु भयो ।
अभियानले बालबालिका र किशोरीहरु माथि हुने यौनजन्य हिंसामा कमि आउनुका साथै किशोरीहरु हिंसामा परेर पनि आफन्त तथा प्रहरी सम्म खबर गर्न नसकि रहेको अवस्थामा सहयोग पुग्ने प्रहरी प्रमुख पाठकको भनाई छ । यो अभियान असोज २० गते सम्म संचालन हुने छ ।
दोलखा प्रतिनिधी सभा सांसद माननिय पार्वत गुरुङले सुरक्षाको पहिलो जिम्मेवारी स्वय्म आफै भएको हुँदा पहिले आर्फै सचेत रहनु पर्ने र अपराधिक घटनाहरु घटेमा प्रहरीलाई जानकारी गराई सहयोग गर्नको लागि आग्रह गर्नु भयो ।