सालकको खपेटा सहित दोलखामा एक जना पक्राउ

प्रभु जिरेल
चरिकोट, ११ भाद्र, दोलखा जिल्लामा नयाँ प्रहरी प्रमुख आए संगै गैर कानुनी कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको बिषेश टोलीले सोमबार भिमेश्वर नगरपालिका वडा न ७ भुलभुलेबाट एक जनालाई दुर्लभ बन्यजन्तु सालकको सपेटा सहित पक्राउ गरेको छ । भिमेश्वर नगरपालिका वडा न ६ निवासी ५३ बर्षिय होम बहादुर थापालाई पक्राउ गरेको हो । २७ इन्च लम्वाई ९ इन्च चौडाई भएको करिव ३८० ग्रामको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित थापालाई भिनपा ७ बाट पक्राउ गरिएको हो । आज विहान करिव ९ बजेको समयमा भिनपा ७ भुलभुलेबाट सालकको खपेटा विक्री वितरणको लागि लैजादै गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले थापालाई पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।

आफ्नै घर अगाडी सालक आएको र लठ्ठीले हानेर सालको शिकार गरेको थापाले बताएका छन् । थापालाई थप अनुसन्धान गरि डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रहरीले केही दिन अघि मात्र दोलखाको मैनापोखरीबाट ३ जनालाई चितुवाको छाला सहित पक्राउ गरेको थियो ।