चरीकोट, १७ मङसिर, आगमी निर्वाचनलाई लक्षित गरी दोलखाको सवै स्थानिय तहहरुमा आजबाट मतदाता नामावली संकलनको काम सुरु भएको छ ।
मतदाता नामवलीमा नाम दर्ता गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयले दोलखाको सवै स्थानिय तहहरुको केन्द्रमा मतदाता नामावली संकलनको काम सुरु गरेको दोलखाका निमित निर्वाचन अधिकृत विशाल केसीले बताउनु भयो । मतदाता नामावली दर्ता र संकलनको कार्यलाई प्रचलित कानुन बमोजिम नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र कुनै पनि मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुुटुन् भन्ने उद्देश्यले नामावली संकलनको कार्य सुरु गरिएको कार्यालय प्रमुख केशीले बताउनु भयो । आजबाट सुरु भएको अभियान प्रत्येक पालिकामा १० दिन सम्म संचालन हुने र नाम दर्ता गर्न छुटेका व्यक्तिहरुलाई आफुलाई पायक पर्ने ठाउँमा उपस्थित भई नाम दर्ता गराउनहुन निर्वाचन कार्यालय दोलखाले आग्रह गरेको छ ।

सात गाँउपालिका र दुई नगरपालिका रहेको दोलखामा प्रदेश क्षत्र नम्वर २ अन्र्तगतको गौरिशंकर गाउँपालिका, विगु गाउँपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ गाउँपालिका र भिमेश्वर नगरपालिकामा आजबाट मंसिर २६ गते सम्म नामावली संकलन गरिने भएको छ । त्यसै गरी निर्वाचन क्षेत्र नम्वर १ अन्र्तगतको जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, वैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा मंसिर २९ गते देखि पौष ९ गते सम्म पालिकाको केन्द्रमा नामावली संकलन गरीने भएको छ । प्रत्येक स्थानिय तहमा १० दिन सम्म र जिल्ल निर्वाचन कार्यालयमा समेत नामालवली संकलन गरीने भएको छ ।
दोलखा जिल्लामा २०७४ सालको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा महिला ७५ हजार ३ सय ८४ जना र पुरुष ७५ हजार आठ सय ११ जना गरी १ लाख ५१ हजार १ सय ९५ जना मतदाता नामवलीमा नाम दर्ता भएका मतदाता रहेका थिए । प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन पछि मतदाता नामावलीमा नाम दर्ता गराई हाल मतदाता थप भई सर्वरमा १ लाख ५७ हजार १ सय ४१ जना पुगेको छ भने ४ हजार १ सय ५९ जनाको मृत्यु भई सकेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

