मालु कोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि मदिरा सेवन गरी हातपात

दर्पण संवाददाता
मालु, १३ असार : दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा संचालनमा रहेको मालु कोभिड अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारी माथी गयराती हातपात भएको छ ।

गय राती १२ वजेको समयमा स्थानिय केहि युवाहरुले मदिरा सेवन गरी अस्पताल प्रवेश गरी कोभिड अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारलाई हातपात गरेको वडा नम्वर ४ का वडा अध्यक्ष तामाकोशी गाउँपालिकाका प्रवक्ता होम बहादुर श्रेष्ठले बताउनु भयो । राती अस्पतालमा रहेका डाक्टर र कर्मचारी माथि विना कारण अस्पताल नजिकै होटलमा मदिरा सेवन गरी अस्पतालमा प्रवेश गरी डाकटर माथि हातपात गरेको बताइएको छ । गाउँपालिकाले संचालन गरेको मालु कोभिड अस्पतालमा राती १२ बजेको समयमा मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको अन्य विरामीको समेत उपचार गर्नको लागि दवाव दिँदै डाक्टर माथि हातपात भएको गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउनु भयो ।

मदिरा सेवन गरी कोभिड अस्पतालको बन्द रहेको गेट नाघेर अस्पताल प्रवेश गरेका ति यूवाहरुलाई अस्पतालमा कोरोनाको विरामी रहेको कारण अस्पताल भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफुले कोभिडको विरामी भन्दा छुटै परिक्षण गराउने बताउदा एक्कासी ति युवाहरुले आफुमाथी हातपात गरेको डाक्टर रोविस कार्कीले बताउनु भयो । राती एक्कासी अस्पतालको गेट नाघेर चार जनाको समुह भित्र पसी आफुहरुमाथी हातपात गर्न थाले पछि डाक्टर तथा कर्मचारीहरु भागेर वसेको डाक्टर कार्कीले बताउनु भयो ।

डाक्टर माथि हातपात गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्रहरीले तामाकोशी गाउँपालिका मालुका गोपाल तिमलसिना, रोसन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भई रहेको र कानुन अनुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनु भयो । स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा कोभिड नियन्त्रणका लागि अस्पतलमा खटिरहेको डाक्टरमाथि हातपात हुनु गम्भिर विषय भएको र कानुन अनुसार कारवाहि हुनुपर्ने गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउनु भयो ।