बैशाख २
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई विदाई गर्नुभएको छ ।
एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्रालयद्धारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गर्नुभयो ।
दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै परिवारका तीन दिदीबहिनी निमा जाङबु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष) ले शुक्रवारदेखि सातै महादेशका अग्ला शिखर आरोहण गर्न सुरु गर्नेछन । आरोहण दलका टोली नेता दावा फुुटीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने योजना रहेको जानकारी दिनु भयो । टोलीलाई विदाई गर्दै मन्त्री गुरुङले आरोहण सफल बनाउनका लागि सरकारले सक्दो सहयोग, समन्वय र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकै घरका तीन जना दिदीबहिनीले सगरमाथासहित सबै महादेशका अग्लो शिखर चुमेर विश्वमा नयाँ कीर्तिमान राख्ने योजना बनाएकोमा खुसी व्यक्त गर्दै उहाँले सो अभियानको पूर्ण सफलताको कामना समेत गर्नु भयो ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, कम उमेरमै विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्न सफल तेम्बाछिरी शेर्पालगायतको उपस्थिति रहेको थियो ।
