जीवन लामा
मानहुँकोटमा गत शनिबार १० हजार पर्यटकको घुँइचो लाग्यो । स्थानीय सरकारले थाम्न नसकेपछि दैनिक तीन सय जना मात्र प्रवेश गर्ने निर्णय गर्यो । यता संकट व्यवस्थापन केन्द्र दोलखाले भने शनिबारनै कालिञ्चोकमा भक्तजनको ओइरो लाग्यो भन्दै प्रवेशमै रोक लगाएको छ ।
दोलखा पर्यटकीय जिल्लामध्ये बागमती प्रदेशकै तेस्रो गन्तव्यको रुपमा लिईन्छ । बागमती प्रदेशको सौराह, नगरकोट, धुलिखेलझैं कालिञ्चोकलाई उत्कृष्ट गन्तव्यको रुपमा विस्तार गरेको छ । नयाँ वर्ष, हिउँ पर्दा, फिल्म सुटिङ र म्यूजिक भिडियोको लागि कालिञ्चोकमा वर्षेनि हजारौ पर्यटकहरुको ओईरोनै लाग्छ ।

मैले मानहुँकोट र कालिञ्चोकको तुलना गर्न खोजेको होईन । आआफ्नाको ठाउँको आआफ्नै महत्व र विशेषता हुन्छ । मानहुँकोटको समाचार पढ्ने बित्तिकै जाउँ जाउँ लाग्यो । स्थानीय सरकारले पर्यटक भित्राउनको लागि यस्तो महामारीको समयमा पनि जुन व्यवस्थापन गरेका छन् त्यही नै उपलब्धिमूलक र महान कार्य गरेको जस्तो लाग्यो । त्यहाँको संरचना र अवस्था हेर्दा खासै पर्यटकको घुँईचो लाग्छ खालको लागेन । तर, स्थानीय सरकारलेनै थाप्न नसक्ने गरी पर्यटकको आगमन भएपछि संख्या तोक्नु स्वभाविक लाग्यो । कमसेकम पर्यटकलाई लाईनमा त राख्न सक्यो । पर्यटकलाई जानबाट बन्देज त गरेनन् नि । मानहुँकोटमा न बाटोनै राम्रो, न कुनै धार्मिक आस्थाको केन्द्र, न भौतिक संरचनाहरुनै निर्माण, न प्राकृतिक सुन्दरताले नै भरेको ? तर पनि मान्छेको लाम किन त ? स्थानीय सरकारको निर्णय र व्यवस्थापन नै ठूलो लाग्यो । घरमा आउने पाहुनालाई स्वागत गर्न सक्नुनै जित हो जस्तो लाग्यो । त्यही कार्यनै महान जस्तो लाग्यो ।
आफ्नो ठाउँको वर्णन गरे जस्तो । कालिञ्चोकमा के छैन ? यो कुनै प्रश्ननै होईन । करिव डेढ घण्टामा पुग्न सकिने । धार्मिक आस्थाको केन्द्र कालिञ्चोक भगवती, केवलकार, प्राकृतिक सुन्दरता, प्रशस्तै होटल लजको व्यवस्था, गौरीशंकर लगायत हिमश्रृङ्खलाहरुको दृश्यावलोकन । हिउँदमा स्की र वर्षामा चौरीको बथानले मनै लोभ्याउने सुन्दर भूमि हो ।

लकडाउन अवधिभर कुनै पर्यटकको आगमन भएन । लगभग स्थानीयले पूर्ण रुपमा लकडाउनको पालना गरेको मानिन्छ । तर, अहिले सबैतिर चहलपहल भएको समयमा प्रवेशमा रोक लगाउनु कत्तिको उपयुक्त निर्णय होला ? के कोरोना तिनै पर्यटकले बोकेर ल्याउने हो ? दिनभर बजार, सातदोबाटो, सार्वजनिक यातायातमा चाहि कोरोना सर्दैन होला त ? एक दुई जना व्यक्तिको स्वार्थ पूर्तिको लागि किन यस्तो कमजोर निर्णयमा पुग्छन प्रशासन र स्थानीय सरकार ? भोलिका दिनमा के नारा लिएर पर्यटकलाई बोलाउनु हुन्छ । अहिले हजारौ पर्यटकहरुलाई बीच बाटोमै अलपत्र पारेर फर्काएकाले कस्ता सन्देश लैजालान ? कहिले विचार गर्नुभयो त ? मानहँुकोटबाट केही सिक्ने कि ? पीसीआर रिपोर्ट, संख्या तोक्ने जस्ता निर्णय कति गजब छ । अलि वृहत छलफल गरेर मात्र निर्णय गर्दा राम्रो हुन्छ कि ? नत्र पसलमा एक्लै बसेकालाई भटाभट मास्क खै भनेर चिट काटेको जस्तो होईन । पहुँचवालाहरु बिना मास्क सयौं जनाको भेलामा भाषण ठोक्दा कोरोना नलाग्ने तर, १,२ जना उभिदा, मास्क नलगाउदा चाहि कोरोना सर्छ भन्ने कमजोर मनस्थिति नबनाउदा राम्रो हुन्छ ।
अब, यस्ता साना साना गलत निर्णयले पर्यटक भड्काउने काम नगरौ । हामी मञ्च पाउने बित्तिकै पर्यटनको कुरा गर्ने । खाँदा, उठ्दा, बस्दा पर्यटनको कुराबाहेक केही नगर्ने तर पर्यटकको आगमन हुने बेला चाहि बाटो बन्द गर्ने काम नगरौ । फलाम तातिने बेलामै हो आकारमा ल्याउने । सेलाएपछि त के काम ?

दोलखाको अधिकांश ठाउँमा पर्यटकलाई बार लाउने काम भईरहेको छ । भोलिको दिनमा तिनै व्यक्ति, निकायहरु हुन पर्यटनको ठूला ठूला स्वरमा भाषण गर्ने । दोलखा आउने पर्यटकलाई बार लगाएर भोलिका दिनमा फेरी पत्रकारले नकारात्मक समाचार लेखेकाले आएन पर्यटक भन्ने पनि तिनै व्यक्तिहरु अघि सर्छन । तसर्थ अब कोरोनामय भएर बाँच्ने हो । आफ्नो सुरक्षा आफै गर्ने हो । छिछि धुरधुर गरेर कोरोना भाग्दैन । पूर्णरुपमा स्वास्थ्य सावधानी अपनाउन सक्नुपर्छ । ठाउँ ठाउँमा स्वास्थ्य केन्द्रको स्थापना गनुपर्छ । व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्छ । पीसीआर जाँचको दायरा बढाउनुपर्छ । अनि मात्र कोरोना संक्रमितको पनि मनोवल बढ्छ र कोरोनालाई जित्न सक्छ । नत्र बिना प्रचारप्रसार जिल्लामा भित्रिने पर्यटकलाई स्वागत गर्न छाडेर धपाउने काम नगरौ । यसले दीर्घकालिन असर पर्न सक्छ पर्यटनमा ।
