सुरु सुरुमा लकडाउनले निकै समस्या पार्यो । बजारको बाहेक अन्य ठाउँको खासै फोटो कैद गर्ने अवसर पाइएन । बिहान, बेलुकी र दिउँसो बजार बन्दको फोटोबाहेक अरु भएन । तर, हप्तापछि फिल्डमा जान थाले । सिंगटी, जिरी, मैनापोखरी, मागादेउरालीमा पुगेर रिपोर्टिङ गरियो । यस अवधिमा क्यामेराले पनि नयाँ नयाँ सिन कैद गर्न फुर्सद पाएन । अधिकांश ठाउँमा प्राकृतिक संरचना आफै बनेको छ ।

कोभिड १९ अर्थात लकडाउनको कारण दोलखाका धेरै ठाउँको अवलोकन गर्ने समय मिल्यो । केही समयको अवधिमै दोलखाका रमणीय ठाउँहरु पटक पटक घुम्न पाईयो । पहिलो पटक पुगेको सुन्द्रावतीकुण्ड, हात्तीछहरा, थापाङ्थली, राङराङथलीमा दोहोरिने समय मिल्यो । यस ठाउँमा कहिल्यै पुगेको थिएन । यति धेरै रमणीय स्थल होला भनेर सोचेको पनि थिएन ।
समय समयमा पुगिरहदा फरक फरक दृश्यमा फरकपन आउदो रहेछ । बैशाख र भदौको बीचमै आकाश पातलको फरक पाएँ । मौसमको हिसाबले जुकाले साथ नदिए तापनि हरियो घाँसपात, वनजंगलले मनै फुरुङ्ग हुँदो रहेछ । हरियो गलैचा ओछ्याएझैं लाग्छ कतिपय बाटोमा । बाटोभरिको रंगीबिरङ्गी फूलहरुले स्वागत गरेझैं लाग्छ अहिलेको मौसममा ।

ठाउँ र परिवेश अनुसार फरक सिनहरु कैद गर्ने अवसर पाएँ । नयाँ नयाँ वस्तुहरुको तस्बिर कैद गरे । कतिपय अवस्थामा एउटै सिन पनि मौसमको कारण फरक फरक देख्न थाले । यिनै कारणले पनि एउटै ठाउँमा दोहोर्याई, तेहेराई जान मन लाग्यो । पुगे पनि । हेर्दा सानो नगरपालिका लाग्थ्यो भीमेश्वर । नाम सुनेका मात्र पर्यटकीय, धार्मिक र सांस्कृृतिक ठाउँ लाग्थ्यो, तर होईन रहेछ । मैले सुनेको थिए कि भीमेश्वर मन्दिर, चम्पूजा पार्क, देउराली, सिमपानी, खोरथली, वृन्दावन, महांकाल, शिवपोखरी । तर अहिलेको मेरो फोटोग्राफी यात्राले धेरै ठाउँको बारेमा जानकारी भयो । साँचिकै नगरपालिकाको परिचय यिनै ठाउँले मात्र धानेको रहेन छ । धेरै झरना, खोलानाला, पोखरी, जडिबुटी र जैविक विविधताले भरिएको ठाने । नयाँ वस्तुको अनुभूति गर्ने अवसर पाएँ । भीमेश्वर नगरपालिका एकैदिन घुम्न सकिन्छ जस्तो लाग्थ्यो । तर हैन रहेछ ।
अहिले महसुस भयो कि भीमेश्वरमा के छ होईन, के छैन । कहाँ जाने होईन, कहाँ चाहि जाने ? यदि भीमेश्वर नगरपालिकाले नगरभित्रका पर्यटकीय गन्तव्य पहिचान गर्ने हो भने कोभिडले थला परेको आर्थिक अवस्था छिट्टै र सहज तरिकाले माथि उकास्न सकिन्छ जस्तो लाग्छ । तसर्थ समय थोरै छ गर्न धेरै बाँकी छ । छोटो अवधिमा भीमेश्वरका गन्तव्यहरु पहिचान गर्न सकेमा अवश्य पनि ओरालो लागेको पर्यटन क्षेत्र छिट्टै उकालो लगाउन सकिन्छ । बाह्य होईन, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकेमा भीमेश्वर नगरपालिकाको आर्थिक, सामाजिक र भौतिक विकास हुनेमा दुईमत छैन । सयौ, हजारौ युवालाई रोजगारको सिर्जना गर्न सकिन्छ । हप्ता हप्तामा अन्य पालिकाबाट भीमेश्वरमा आएर एक २ दिन कटाउन त्यत्ति मुस्किल पर्दैन । सबैको विकल्प भीमेश्वर नगरपालिका है भन्ने वातावरण सिर्जना हुन सक्छ ।

अहिले नेपालीहरु पहिला देश अनि विदेश भन्ने नारालाई साकार पार्नको लागि घुम्न थालेका छन् । दोलखाकै कुरा गर्ने हो भनेपनि शनिबार, विदाको दिन र समय मिलाएरै सपरिवार र साथीहरु मिलेर घुम्ने बानी बसालेको छ । आफ्ना सन्तानलाई किताबी ज्ञान मात्र भएकाले बाहिरी वातावरण र समाजको बारेमा जानकारी दिन पनि घुम्न आवश्यक छ । अभिभावकले ठाउँको बारेमा जतिनै बयान गरे तापनि नदेखेको र नलेखेको कुरामा विश्वास कम हुन्छ । बयानले मात्र बुझ्न पनि गाह्रो हुन्छ । तसर्थ ठाउँ ठाउँमा पार्कहरु निर्माण गर्न आवश्यक छ । मठमन्दिरहरु व्यवस्थित ढंगले सञ्चालन गर्न सकेमा अझ धार्मिक पर्यटकहरुको आगमनमा वृद्धि हुन सक्छ । यातायात र सडकको व्यवस्था गर्न सकेमा पर्यटकहरुमा घुम्न सहज हुने थियो ।

यस अवधिमा धेरै ठाउँ पटक पटक पुग्दा कतै बाटो खराब । कतै फोहोर । कतै अव्यवस्थित संरचना । जसले गर्दा एक पटक आएका पर्यटकले न त अरु पर्यटकलाई घुम्नको लागि आग्रह गर्न सक्छन् न त पुनःघुम्ननै जान्छन । जनप्रतिनिधिहरुको अब काम गर्ने र परिणाम निकाल्ने समय थोरै छ । भोलिका दिनमा आफ्नै पुस्तालाई मेरा बाबा, आमाको कार्यकालमा बनेको विकास भनेर के देखाउने । तसर्थ समयमा कम्मर कसेर लाग्न आवश्यक छ । अब काम काम होईन, परिणाम, परिणाम जनताले खोजेको छ । मेरो यात्राले यही कुरा महशुस गरेको छ । अब डेढ वर्षपछि मैले अहिले घुमेको ठाउँहरुमा केही न केही परिवर्तन खोजेको छु । परिवर्तन देख्न चाहेको छु । यसमा मात्र व्यवस्थापन गर्न सकेमा अझ आहा भन्ने ठाउँ बन्नेछ । जय भीमेश्वर ।
