दर्पण संवाददाता
चरिकोट, साउन ८
लकडाउन पछि विस्तारै चहल पहल सुरु भएको दोलखामा रगतको अभाव हुन नदिनको लागि चरिकोट सातदोवाटोमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ जिल्ला शाखा दोलखाको आयोजना मा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको सहजीकरणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको छौटौं स्थापना दिवसको अवासरमा आयोजना गरेको रक्तलान कार्यक्रममा जिल्लाका ४७ जना व्यक्तिले रक्तदान गरेका थिए ।

हिमाली जिल्ला दोलखामा रगत अभावको कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस र रगतको अभाव नहोस भन्ने उदेश्यले स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ दोलखाका अध्यक्ष भिम बहादुर श्रेष्ठले बताउनु भयो । रेडक्रस दोलखाका सभापती गोकर्ण पोखरेलले जिल्लामा रगतको धेरै माग हुने गरेको र विभिन्न संघ संस्थाको सहकार्यमा रक्तदान कार्यक्रमहरु भई रहेकाले रगतका अभाव भएका विरामीहरुका लागि धेरै सहज भएको वताउनु भयो ।

