दुर्लभ मान्छे

मल हालेको खेतमा कति समय सम्म उब्जनी भइरहन्छ ? भन्नुस्त ।
१० बर्ष / २० बर्ष
उपद्रब गरेको मान्छे कहिले सम्म भागिरहन सक्छ ?भन्नुस्त ।
१० बर्ष वा १०० बर्ष
को सक्छ भाग्न
आयु सकिएपछि पनि ?
छाप्रो नजिकै को खेत
मल हालेको खेत
भैंसी बस्ने खेत
सोतर , पत्कर खस्ने खेत
अनुर्वर माटो ।
हावा फलाएर , पात हल्लाइरहेको प्रकृति
नफलेको जमिनले ढाकेको आशाको किरण
गहिरिएर अडेको मासु भित्रको सुन्निएका हाडजस्ता ढुङ्गा
गोबरको गन्धले अघाएर
पाएको उपहार -सर्दिले सताएको रात
जबर्जस्ति पेट सिएर खाना नखोज्नुको आनन्द
विवेकानन्द र बुद्दका उपदेश
बर्षातमा पानी खाएर बढी र रगत खाएर कम मोटाएका बलिया जुकाहरु
पाकेपछिको अन्न अगाल्न खेतका गरा गरामा
भेटिएका खेतालाहरु
ढालेको धातुको ढिक्का
एक एक सुत रङ्गिएको धानको बाला
मुखमा ताल्चा लगाए सरि मौन बसेका
थोत्रा नोकरहरु
निर्दोष कुखुराका चल्लाहरु
पानीमा भिजाएर पनि नपग्लिएका काठका टुक्राहरु
त्यो दुर्लभ मान्छेको सम्झना
जो नियम विरुद्ध पस्यो मनमा
उमृदैगयो
अनित्य पुष्प विन्यास झै होइन
ढोका च्यातेर पसेको मान्छे घर जत्रै भयो
नाम मेरै बोकेको त्यो दुर्लभ मान्छे
अपरिमित हिसाबले मसी पोखिएको कलम जस्तो
प्लास्टिक जोखिएको तराजु जस्तो
अविरल कान्तिकी किन्नरी
घाँसहरुको समुदायमा बाँस जस्ती
रुखहरुको समुदायमा पिपल जस्ती किन्नरी
बासस्थान नपाएर भौतारिरहेका
कमिलाका एक जोडी
तराईमा खस्ने भेल खाएर
बलियो बनेका गोही , अजिङ्गर
रिमोट बोकेर पनि
रिमोटमै बस्न बाध्य
टिमुर खाएका, गुलिया मान्छेहरु
अनि उनी दुर्लभ मान्छे
हृदयका धारा -धारामा,दफा-दफामा,उपदफा र सिङ्गो अनुसूचीमा
परिदर्शक बनेर
केलाउदैछौ अस्थिर प्रकाशको स्थिर बस्तु झै
कहिल्यै नमेटिने गरि लगाउदैछौ डाम
यन्त्र , शस्त्र , दस्तावेज कसैले परिमार्जन सम्सोधन गर्न नसक्ने गरि
छुदैछौ हृदयका टापुहरुमा अलौकिक व्यबहारहरुले
छालाका इच्छाहरुले होइन
उग्र उर्लिएका मनका
मनका भावनाहरुले
तिमिमा सम्पुर्णता देख्छ
करङ्गहरुको भिडमा कतै नकोरिएकी
एटलसमा हराएकी , गणनामा नगनिएकी
उनी दुर्लभ मान्छे
मैले मात्र चिनेको छु उसलाई
पुस्तकका पत्र पत्रमा
उनकै दुर्लभ अनुहार भेट्छु
हल्लिएका हातहरुले अनायासै इशारा गरेर उसैलाई बोलाउछन
दुरमा बसेर पनि अदुर भएकी
कतै नमिसिएकी , नछोइएकी
हिमशिला जस्ता केश भएकी
उनी दुर्लभ मान्छे
गणितमा नगनिएका अगाडिका थुप्रै जिरोहरु जस्ता मान्छेहरुको भिडमा
उनी दुर्लभ मान्छे मेरो सङ्ग्राहलयमा सजिएकी उनी दुर्लभ मान्छे ।।
– रविन्द्र ढुङ्गेल
शैलुङ-४, दोलखा