दर्पण संवाददाता
चरिकोट, ८ फाल्गुन
आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्र्तगत प्रदेश नं ३ स्तरीय महिला भलिवल छनोट प्रतियोगिता दोलखा चरिकोटमा आजबाट सुरु भएको छ ।
प्रदेश खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समिति दोलखाको सह आयोजनामा सुरु भएको भलिवल प्रतियोगितामा १२ जिल्लाका खेलाडिहरु सहभागी भएको आयोजकले जनाएको छ । सहभागि हुने जिल्लामा प्रदेश नं ३ अन्र्तगतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाण्डौ, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका छन् । खेल अविधी भर सवै खेलाडिको मुल्याङकन गरिने र १२ टिम भित्रबाट खेलाडि छनोट गरी प्रदेश नं ३ को महिला भलिवल टिम बनाइने खेल संयोजक उमेश केसीले बताउनु भयो ।
आज बाट सुरु भएको खेलको प्रदेश सांसद पशुपती चौलागाईले उद्घाटन गर्नु भएको थियो । खेलको उद्घाटन गर्नु हुँदै सांसद चौलागाइले खेलकुदको क्षेत्रमा पनी विकास गर्नु पर्ने र खेलकुदले राष्ट्रको सहयोग पुग्ने बताउनु हुँदै खेलकुद क्षेत्रमा सुधार हुनुपर्ने बताउनु भयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित चरिकोट टुडिखेल मैदानमा सुरु भएको खेल फाल्गुन ११ गते सम्म संचालन हुने जिल्ला खेलकुल विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले बताउनु भयो ।
दोलखा र काभ्रे विच आज भएको पहिलो खेलमा दोलखाले जित हात पारेको छ भने भक्तपुर र धादिङ विच भएको खेलमा भक्तपुरले जित हात पारेको छ । पहिलो खेलमा दोलखाको सम्झना वस्नेत म्यान अफ द म्याच भएकी छिन् भने दोस्रो खेलमा भक्तपुरको विनिता शिल्पकार म्यान अफ द म्याच भएकी छिन् ।