दर्पण संवाददाता
चरिकोट, ३० भाद्र,
पर्यटकीय नगरी चरिकोटको शान्ती सुरक्षालाई मध्यनजर गरी दोलखा उद्योग वाणिज्य संघले भीमेश्वर नगरपालिका संगको सहकार्यमा बजार एरियामा सिसि क्यामेरा जडान गर्ने भएको छ ।
दोलखा उद्योग वाणिज्य संघ दोलखाले चरिकोटको मुख्य चोकहरुमा ४० ओटा सिसि क्यामेरा जडान गर्न लागेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बताउनु भयो । सुरक्षित बजार हाम्रो अभियान भन्ने नाराका साथ सुरु गरेको यो अभियानले चरिकोट बजारका व्यवसायीहरुको व्यवसाय सुरक्षित हुनुका साथै अपराधिक क्रियाकलापमा कमि आउने विश्वास रहेको अध्यक्ष कार्कीले बताउनु भयो ।
सिसि क्यमेरा तत्काल चरिकोट सातदोवाटो चोक देखि पशुपतिडाँडा, सातदोवाटो देखि पार्टी खोला र सातदोवाटो देखि चरिघयाङ सम्म जडान गर्न लागिएको छ । भीमेश्वर नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सुरक्षित नगरको रुपमा विकास गर्ने नीति अनुरुप सिसि क्यामेरा जडान गर्न लागिएकोे भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले बताउनु भयो ।यो कार्यले व्यवसायीहरुलाई फाइदा पुग्ने प्रमुख केसीको भनाई छ । सिसि क्यामेरा जडान गर्नको लागि करिव ३० लाख रुपैया लाग्ने भिमेश्वर नगरपालिकाका इन्जिनियर सुरेस राउतले जानकारी दिनुभयो ।
जडान कार्य संचालन गर्नको लागि मिति २०७५ भादै २७ गते भिमेश्वर नगरपालिका र दोलखा उद्योग वाणिज्य संघ तथा सरोकारवालाहरुको संयुक्त वैठक बसी दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कमिटि गठन गरेको छ । कमिटिले सरोकारवाला पहिचान, स्थान छनोट, इष्टिमेट निर्माणको काम गरि रहेको संयोजक सुन्दर कार्कीले बताउनु भयो ।