२ के.जी ९०० ग्राम सालकको खपेटा सहित दोलखामा दुई पक्राउ

प्रभु जिरेल
चरिकोट, २३ असोज

संरक्षित वन्यजन्तु सालकको खपेटा सहित दोलखा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा न ३ बस्ने २३ वर्षिय अर्जुन देवकोटा र १९ वर्षिय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनिहरुको साथबाट २ के.जी ९०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यलय दोलखाबाट खटेको टोलिले भिमेश्वर नगरपालिका वडा न ३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनिहरुलाई पक्राउ गरेको थियो । अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई संकास्पद भई रीतपुर्वक खानतलासी गर्दा झोला भित्र निलो प्लास्टिकमा पोको पारी राखेको अवस्थामा २ केजी ९०० ग्राम सालकको खपेटा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई डिभिजन बन कार्यालयमा बुझाइने प्रहरी नायव उपरिक्षक वासुदेव पाठकले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गते देखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० के.जी ८०० ग्राम सालकको खपेटा बरामद गरेको छ । गत साउन २५ गते मात्र भिमेश्वर नगरपालिका वडा न ७ निवासी होम बहादुर थापालाई ३८० ग्राम सालकको खपेटा सहित पक्राउ गरेको थियो । दोलखामा सालकको खपेटा ओसारपसरा तथा वेचविखान गर्ने गिरोहको समुह बढदै गएको र त्यसको अनुसन्धान भई रहेको प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।