भाद्र ३१ दोलखा
स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा तथा सुविधालाई प्रभावकारी बनाउनका लागि दोलखामा सामुदायिक अंक पत्रको माध्यमबाट छलफल सम्पन्न गरिएको छ ।
मानव अधिकार सचेचन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजानले भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको दोलखा स्वास्थ्य चौकीमा सामुदायिक अंक पत्र विधिको प्रयोग गरी छलफल सम्पन्न गरेको हो । सामुदायिक अंक पत्र भनेको सेवा प्रवाहको अवस्थाको बारे सेवाग्राहीको प्रतिक्रिया सहितका मुल्यांकन र सेवाप्रदायक निकायले सेवा प्रवाहको अवस्थाको बारेमा गर्ने स्वमुल्यांक विधि हो । सामुदायिक अंक पत्रलाई सामाजिक जवाफदेहिताका औजारको रुपमा लिने गरीन्छ ।
मंगलबार दोलखा स्वास्थ्य चौकीमा आयोजित सेवाग्राही र सेवाप्रदायक विचको आमने सामने छलफल कार्यक्रममा सेवाप्रदायक निकाय र सेवाग्राहीको तर्फबाट सेवा प्रवाहको अवस्था र गुणस्तरको बारेमा छुट्टा छुट्टै प्रस्तुती गरिएको थियो । कार्यक्रममा सेवाग्राहीको तर्फबाट विनिता जोशीले सेवा प्रवाहको अवस्थाको बारेमा प्रस्तुती गर्नु भएको थियो । सो क्रममा वहाँले स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा मध्य खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा प्रभावकारी रहेको उल्लेख गर्नु भयो । सो अवसरमा वहाँले स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधी उपलब्ध नभएको र भौतिक पुर्वाधारको अभवाले गर्दा सेवाग्राहीहरुले सेवा लिने क्रममा समस्या हुने गरेको बताउँनु भयो । सो अवसरमा जोशीले स्वास्थ्यकर्मीहरुको नियमित उपस्थिती रहेने गरेको उल्लेख गर्नु हुदै उपचारका क्रममा पर्याप्त औषधी नपाउने गरेको उल्लेख गर्नु भयो ।
यसै गरी कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज रामकृष्ण मास्ेकले स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवा सुविधाका सम्वन्धमा सेवाप्रदाय निकायको स्वमुल्यांकन गर्नु हुँदै स्वास्थ्य चौकीले दिने सेवा सुविधा गुणस्तर भएको दावी गर्नु हुदै पर्याप्त भौतिक पुर्वाधार र औषधीको भने अभाव रहेको बताउनु भयो । सो अवसरमा वहाँले स्थानीय तहले औषधी खरिद, स्वास्थ्य उपकरण र भौतिक पुर्वाधार निर्माणका लागि बजेट विनियोजन नहुँदा विरामीलाई आवश्यक पर्ने औषधी उपलब्ध गराउन नसकिएको बताउँनु भयो । सो अवसरमा मास्केले पर्याप्त औषधी उपलब्ध गराउन भीमेश्वर नगरपालिका समक्ष आग्रह गर्नु भयो । २४ घण्टे प्रसुति सेवा लगायत स्वास्थ्य चौकीले प्रदान गर्ने अन्य सेवा प्रभावकारी भएको दावी गर्नु हुँदै स्वास्थ्य चौकीको भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको उल्लेख गर्नु भयो ।
छलफल कार्यक्रममा भीमेश्वर नगरपालिकाका उप प्रमुख कमला बस्नेतले सेवा प्रवाहको अवस्था विष्लेषणका लागि सामुदायिक अंक पत्र उपयुक्त माध्यम भएको बताउँनु हुँदै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि भीमेश्वर नगरपालिकाले पहल गरिरहेको बताउनु भयो । गत वर्ष संघीय सरकारले स्वास्थ्य क्षेत्रका लागि कम बजेट पठाएको हुँदा औषधी अभाव भएको उल्लेख गर्दै यस बर्ष नगर क्षेत्र भित्र औषधी अभाव हुन नदिन प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा वहाँले स्वास्थ्य चौकीलाई आवश्यक पर्ने उपकरण उपलब्ध गराउनका लागि पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष बिराजमान श्रेष्ठले स्वास्थ्य चौकीले दिने सेवा सुविधालाई प्रभावकारी बनाउँनका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजनाका परियोजना संयोजक शेरबहादुर भुजेलले सेवाप्रदायक निकायलाई जवाफदेहि र जिम्मेवारी बनाउँनको लागि परियोजनाले रचनात्मक सहयोग गर्दै आएको उल्लेख गर्नु हुँदै सोही क्रममा स्वास्थ्य चौकीमा सामुदायिक अंक पत्र कार्यक्रम सञ्चालन गरिएको बताउँनु भयो । कार्यक्रमको सहजीकरण पारस्परिक जवाफदेहीता परियोजनाका सामुदायिक अनुसन्धाकर्ता मेनुका सुवेदीले गर्नु भएको थियो ।
