स्थानीय निकाय मार्फत जन गुनासो तथा सुझाव संकलन गर्दै बागमती प्रदेश

पुस्कर महत, जफे मंसिर २५
दोलखाको तामाकोशी गाउँपालिकामा प्रदेश प्रहरी कार्यालयले सुझाव संकलन पेटिकाको व्यवस्था गरेको छ ।
गाउँपालिका क्षेत्रभित्र रहेका प्रहरी चौकीका प्रहरीहरुको संलग्नतामा आज गाउँ कार्यपालिकाको कार्यालयमा सुझाव संकलन पेटिकाको व्यवस्था गरिएको हो । प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनका लागि सो सुझाव संकलन पेटिका राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालयहरु मार्फत यो सुझाव संकलन पेटिका राखिएको हो । प्रत्येक महिनाको १ गते स्थानीय प्रहरी चौकी मार्फत खटिएका प्रहरीले गाउँपालिकाका प्रतिनिधि तथा कर्मचारीहरुको रोहवरमा सो सुझाव संकलन पेटिकामा प्राप्त भएका गुनासो तथा सुझावहरुलाई संकलन गरी जिल्ला प्रहरी कार्यालय मार्फत बागमती प्रदेश प्रहरी कार्यालयमा पठाइने जनाइएको छ । यसबाट प्राप्त गुनासो तथा सुझावहरुले संगठनको सुदृढिकरण तथा जनताका समस्या समाधानमा सहयोग मिल्ने बागमती प्रदेश प्रहरीले अपेक्षा गरेको छ । जिल्लाका सबै स्थानीय तहहरुमा आजबाटै सुझाव तथा गुनासो गर्न मिल्ने गरी व्यवस्था गरिएको सुझाव पेटिका गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले उद्घाटन गर्नुभएको हो ।