सोनाम ल्होछारमा चरिकोट सातदोवाटोमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

सोनाम ल्होछारको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । सोनाम ल्होछारको अवसरमा माघ ३ गते चरिघ्याङ गुम्बा व्यवस्थापन समितिले सातदोबाटो चोकमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक दावा लामाले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक लामाले यस वर्षको ल्होछार विशेष र फरक ढङ्गले सम्पन्न गर्न लागिएको र लामो समयपछि दोलखामा ल्होछारलाई केन्द्रमा राखेर यस्तो ठूलो कार्यक्रम आयोजना हुन लागेको बताउनुभयो । जिल्लाभरका तामाङ समुदायका साथै मनोरञ्जनप्रेमी दर्शकहरूलाई सदरमुकाममा भेला गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । यस किसिमको कार्यक्रमले तामाङ समुदायको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै दोलखाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तामाङ समुदायको वाक्लो वसोवास रहेको दोलखा जिल्लामा यस वर्षको ल्होछार कार्यक्रमलाई अझ भव्य, सभ्य र आकर्षक रूपमा मनाउने तयारी गरिएको कलाकार कुइसाङ रुम्वाले बताउनु भयो ।

बृहत सांस्कृतिक कार्यक्रममा रोज मोक्तान, अमिर दोङ, याङ्जी दोङ, सुवास मोक्तान, प्रतिक मोक्तान, सानुबाबु घिसिङ, सुशिल तिदाङ, मिन योञ्जन र कोपिला वाइवा लगायत राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । साथै कार्यक्रम स्थलमा तामाङ समुदायको सांस्कृतिक झल्को दिने भेषभूषा, परम्परागत खानाका परिकार, डम्फु तथा अन्य सांस्कृतिक सामग्रीहरू सजाइने व्यवस्थापन गरिएको कुईसाङ रुम्बाले जानकारी दिनुभयो ।

बृहत सांस्कृतिक कार्यक्रम माघ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले सम्पूर्ण तामाङ समुदायसहित सबै संस्कृति प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई ल्होछारलाई उल्लासमय बनाउन आग्रह गरेको छ ।