सामुदायिक विकास मञ्चद्धारा २३० वटा धारा निमाण गरी समुदायलाई हस्ताण्तरण

दर्पण संवाददाता
चरीकोट, १० साउन : दोलखा जिल्लाको सवै स्थानिय तहमा हरेक नागरिकलाई सहज तरिकाले पिउने पानी उपलव्ध गराउने उदेश्यले गाउँपालिकाहरुले एक घर एक धारा अभियान संचालन गर्दै आएको छ । खानेपानीको अभाव भएको विभिन्न स्थानहरुमा खानेपानी योजना संचालन गर्नका लागि दोलखा जिल्लामा स्थानिय तह, संघिय सरकार र प्रदेश सरकारले समेत विभिन्न योजनाहरु संचालन गर्दै आईरहेको छ ।

दोलखाको कालिन्चोक गाउँपालिका र शैलुङ गाउँपालिकाको विभिन्न वडाको वस्तीहरुमा खानेपानीको समस्या भएको ठाउँहरुमा पहिचान गरी खानेपानी योजना संचालन गरिएको छ । गाउँपालिकाको एक घर एक धारा अधियानमा हातेमालो गर्दै सामुदायिक विकास मञ्च नेपाल दोलखाले कालिन्चोक गाउँपालिका वडा नम्वर ६ लापिलाङमा १२५ ओटा धारा र शैलुङ गाउँपालिकाको वडा नम्वर ४ मागापैवामा १०५ ओटा धारा निर्माण गरि समुदायलाई हस्ताण्तरण गरेको छ । कालिन्चोक गाउँपालिकाको वडा नम्वर ६ लापिलाङमा संचालन गरियोजना सोती नागथान खानेपानी तथा सरसफाई आयोजना ९१ लाखको लागतमा २०७६ मंसिरवाट संचालन गरि सम्पन्न गरिएको छ । उक्त आयोजनाबाट लापिलाङ लेप्टुङका १२५ घरधुरी प्रत्यक्ष रुपमा लाभवन्वीत भएका छन् । खानेपानीको चरम अभाव रहेको लेप्टुङ क्षत्रमा एक घर एक धारा निर्माणका लागि वाटरएड नेपाल र सामुदायिक विकास मञ्चले ६१ लाख ६८ हजार कालिन्चोक गाउँपालिकाले ११ लाख ७१ हजार लागानी गरेको थियो ।

त्यस्तै शैलुङ गाउँपालिका वडा नम्वर ४ जोगी डाँडामा संचालन गरेको आयोजनाले १०५ घर परिवार प्रत्यक्ष लाभवन्वीत भएका छन् । वाटरएड सामुदायिक विकास मञ्च र शैलुङ गाउँपालिकाको संयुक्त एक करोड एक लाखको लगानीमा जोगीडाँडा खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको हो । सामुदायिक विकास मञ्च नेपाल दोलखाले जिल्लाको विभिन्न क्षत्रमा खानेपानीको समस्या रहेको ठाउँहरुमा पहिचान गरि खानेपानी सुरक्षा तथा वास उत्थानशीलता परियोजना संचालन गरेको र शैलुङ गाउँपालिकामा ४ वटा योजना र कालिन्चोक गाउँपालिकामा दुई ओटा योजना छनोट गरी काम गरि रहेको कार्यकारी निर्देशक प्रेम अधिकारीले बताउनु भयो ।

घर घरमा धारा निर्माण भए पछि खानेपानीको समस्या हुने गरेको वस्तीहरुका स्थानीयहरुमा खुसी छाएको छ । पिउने पानी लिनका लागि करिव १ घण्टा सम्मको समय खर्चनुपर्ने वाध्यता रहेकोमा सवैको घर घरमा पानी आए पछि सहज भएको स्थायिनहरुले बताएका छन् । पानीको सहि प्रयोग गराउने र सवैलाई सहज गराउने उदेश्यले धारामा मिटर जडान गरिएको छ । प्रत्येक घर परिवारले मार्सिक रुपमा १५ यूनिट सम्म पानी खपत गर्न पाउने र त्यस भन्दा माथि गए न्युनतम शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । एक हजार लिटर पानी खपत गर्दा १ यूनिट हुने गर्दछ ।