शिविरमा पाँच सय भन्दा बढीले गराए स्वास्थ्य परिक्षण

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५ को आयोजनामा महेन्द्रोलय मावि माटीमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् ।

वडा कार्यालयको आयोजनामा र सुमेरु सिटी अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा कुल ५०१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएको वडा अध्यक्ष वासु श्रेष्ठले बताउनु भयो ।

शिविरमा जनरल फिजिसियन सेवा २०५ जना, स्त्रीरोग सेवा १८५ जना महिलाले लिएका थिए भने नसा तथा हाड–जोर्नी सम्बन्धी समस्या भएका बिरामीहरूको पनि उपचार गरिएको थियो । सेवा लिने मध्ये ४ जनामा जटिल समस्या देखिएकाले वडा नं. ५ र सुमेरु सिटी अस्पतालको समन्वयमा थप उपचारका लागि काठमाडौं लगेर उपचार गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शिविरमा हाडजोर्नी, महिला तथा प्रशुती रोग, जनरल मेडिसीन, पिसाव तथा मृगौला रोग, नाक कान घाँटी रोग, भिडियो एक्स रे, विसाव जाँच तथा निशुल्क औषधी वितरण गरिएको थियो । विरामीहरुलाई शिविर स्थलसम्म आवत–जावत गर्नका लागि निशुल्क व्यवस्था गरी स्वास्थ्य परीक्षणमा सहभागी हुन सहज गरिएको थियो ।

शिविरको उदघाटन गर्नुहुँदै भिमेश्वर नगरपालिकाका उप प्रमुख कमला बस्नेतले स्थानीय सरकारले नागरीकहरुको स्वास्थयको लागि विभिन्न कार्यक्रम संचालन गरिएको र थप गाउँघरमानै रोग पहिचानको लागि शिविरले थप सहयोग पुग्ने बताउनु भयो । कतिपय विरामीहरु रोग पालेर वस्ने र उपचारको लागि अस्पताल सम्म नपुग्ने र जटिल समस्या देखिए पछि मात्र अस्पताल जाने समस्या भएको हुँदा वडावासीहरुको स्वास्थ्य परिक्षणको लागि शिविर आयोजना गरिएको अध्यक्ष वासु श्रेष्ठले बताउनु भयो । केहि विरामीहरुमा जटील समस्या देखिएका र उनिहरुको थप उपचारको लागि वडाले व्यवस्था मिलाउने उहाँले बताउनु भयो ।\