जिल्लाको बिगु गाउँपालिका वडा नम्वर ३ बुलुङमा रहेको शारदा माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ ।
विद्यालय स्थापनाको ५० वर्ष पुरा भइको अवसरमा विद्यालयले ५० औँ जन्म जयन्ती अर्थात् स्वर्णमहोत्सव मनाएको हो । ‘पचासौँ वर्षको गौरवशाली यात्रा ः शिक्षा र समृद्धिका लागि हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित विद्यालयले सोमबार भव्य समारोह आयोजना गरी स्वर्णमहोत्सव उद्घाटन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ तामाङको सभापतित्व र बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीको प्रमुख आतिथ्यतामा आयोजित भव्य समारोहका बीच अध्यक्ष ओली सहित विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ, बुलुङका वडाध्यक्ष ढालबहादुर तामाङ र राजनीतिक तथा समाजसेवी व्यक्तित्व ओमकृष्ण आचार्य लगायतले संयुक्त रूपमा स्वर्णमहोत्सव उद्घाटन गरेका हुन् ।
विद्यालयले बुलुङ वडा भित्रका कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृति प्रस्तुतिहरूसहित हिजो उद्घाटन गरेको स्वर्णमहोत्सव समारोह तीन दिनसम्म जारी रहने स्वर्ण महोत्सव समारोह मुल आयोजक समितिका संयोजक बालकृष्ण मल्लले जानकारी दिए । उनका अनुसार महोत्सवको दोस्रो दिन आज बिगु गाउँपालिका स्तरीय माध्यमिक विद्यालय (कक्षा १०) विज्ञान विषयमा आधारित हाजिरीजवाफ प्रतियोगिता र विद्यालयभित्रका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । स्वर्ण महोत्सवको अवसरमा विभिन्न संस्कृतीक तथा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ ।
समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वध्यक्ष, पूर्वप्रधानाध्यापक, संस्थापक, पूर्वशिक्षक, विद्यालय कर्मचारी र सहयोगी व्यक्तिहरूलाई सम्मान तथा प्रतियोगितामा विजयीहरूलाई पुरस्कार व्यवस्था गरिएको छ ।
व्यवसायी आचार्यद्वारा छात्रवृत्ति कोष स्थापना
स्वर्ण महोत्सवको अवसरमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य समेत रहेको व्यवसायी ओमकृष्ण आचार्यले एक लाख रुपैयाँको छावृत्ति कोष स्थापना गरेका छन् । विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै शैक्षिक स्तरमा समेत सुधार ल्याउन सकिने उद्देश्यका साथ उनले आफ्नो स्वर्गीय पिता चेत प्रसाद आचार्यको सम्मानमा सो छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
बुलुङमै जन्मिएर हुर्किएका व्यवसायी आचार्य हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर व्यवसाय गर्दै आएका छन् । उनी बिगु गाउँपालिकाको शिक्षा समिति सदस्य समेत हुन् । उनले विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ र वडाध्यक्ष ढालबहादुर तामाङलाई कोषमा दाखिला गरिने रकम बराबरको चेक हस्तान्तरण गरे । यो रकम आगामी वर्षहरूमा विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन र सहयोगको रूपमा प्रदान गरिने र त्यसको सम्पूर्ण व्यवस्थापन विद्यालयले गर्ने उनको भनाइ छ ।
कोष स्थापना गर्दै उनले शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने र आगामी वर्षहरूमा विद्यालयका विद्यार्थीलाई उच्च शिक्षा प्राप्तिमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे । नेकपा एमालेको राजनीतिमा रहेका आचार्य काठमाडौंमा रहेर पनि आफ्नो जन्मभूमि बुलुङ र बिगुको समग्र विकास र हितका निम्ति सक्रिय रहँदै आएका छन् ।
कार्यक्रममा बिगु गाउँपालिका–४ लादुकका अध्यक्ष रामचन्द्र खड्का, गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठ, गौरीशंकर मावि लामाबगरका प्रधानाध्यापक हिरामणि गौतम, शान्ति आदर्श मावि लादुकका प्रधानाध्यापक सुदीप खड्का, चित्रे मावि लादुकका प्रधानाध्यापक गणेश उप्रेती, देवीटार मावि चिलंखाका प्रधानाध्यापक कृष्ण केसी लगाएतको सहभागीता रहेको थियो ।