लामोसाँगु चरिकोट सडक ; ठेकेदारको वदमासी यात्रुलाई सास्ती

प्रभु जिरेल
चरिकोट, श्रावण ९

लामोसाँगु जिरी सडक अन्र्तगतको लामोसाँगु चरिकोट सडक खण्डमा सडक निर्माण गर्ने ठेकेदार कम्पनीको लापर्वाहीका कारण दोलखा र सिन्धुपाल्चोकका नागरिकहरुले सास्ती भोग्नुका साथै दोलखा अघोषित नाकाबन्दीमा परेका छ ।

लामोसाँगु देखि चरिकोट सम्मको ५५ किमिको सडक निर्माणको जिम्मा लिएको जेभि कम्पनी लामोसँगु देखि मुडे सम्म सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभी र मुढे देखि चरिकोट सम्म शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभी ठेकेदार कम्पनीले समयमानै काम नगर्दा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । सडक निर्माणको क्रममा ठाँउ ठाँउमा खाल्डो खनेको र माटो थुपारेका कारण सडक हिलाम्य बनेको छ । दोलखाको चरिकोट देखि खाडिचौर सम्म ५५ किमिको यात्रा गर्न अहिले १२ देखि २० घण्टा सम्म लाग्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । राजधानी जानका लागि वैकल्पीक राजमार्ग नभई यात्रा गर्न बाध्य रहेका सवारीसाधानहरुलाई डोजर स्काभेरले ५५ किमिसम्म नै तानेर पार गर्नु पर्ने बाध्यता रहेको सवारी चालकले बताएका छन् ।

२०७२ भदौमा सम्झौता भई दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी सुरु गरेको काम पाँच वर्ष लाग्दा समेत ठेकेदारको वदमासीका कारण सडक निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीलाई समयमानै काम गर्नका लागि पटक पटक ताकेता गर्दा पनी काम नगरेका कारण अहिले सडक डिभिजन कार्यालय चरिकोटले दैनिक हर्जाना लगाएको छ ।
लामोसाँगु मूडे सडक खण्ड अन्र्तगत खाडिर्चाैर देखी देखि २५ किमीसम्म लामोसाँगु मूडे सडक खण्डको काम गरिरहेको सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले अहिले दैनिक झण्डै तीन लाखको दरले, २५ किमी देखी ५५ किमीसम्म मूडे चरिकोट सडक खण्डको काम गरिरहेको शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले अहिले दैनिक झण्डै चार लाखको दरले हर्जाना तिरीरहेको आयोजना प्रमुख धमेन्द्र कुमार झाले बताउनु भयो ।

निर्माण कम्पनि र डिभिजन सडक कार्यालयको लार्पवाहिले दोलखा र सिन्धुपाल्चोकका वासिन्दाले दुःख पाएको र अहिले यातायात सहजताको लागि निरन्तर दवाव दिईरहेको दोलखाका संघिय सांसद पार्वत गुरुङले बताउनु भयो । साउन ५ गते सार्वजनिक सूचना मार्फत तीन दिने अल्टिमेटम सहित काम सम्पन्न नहुदासम्मको लागि यातायात सहज हुने गरी आवश्यक व्यवस्थापन गर्न चेतावनी दिईएको र अहिले खाल्डा खुल्डी पुर्ने र अन्य आवश्यक व्यवस्थापनको काम भै रहेको आयोजना प्रमुख झाले बताउनु भयो ।

सडक निर्माणमा लामो समय देखि ठेकेदार कम्पनीले वेवास्ता गर्दै आएको र नागरिक संग प्रत्यक्ष सम्बन्ध जोडिएका यस्ता आयोजना वषैदेखि अलपत्र पर्दा समेत सम्बन्धीत निकायहरुले चासो नदेखाउने गरेको र वर्षाको समयमा यात्रुहरुले दुःख पाएको कानुन व्यवसायी कृष्ण वस्नेतले बताउनु भयो ।

तिन दिने अल्टीमेटम पश्चात विहिवारबाट सामान्य रुपमा काम गर्न सुरु गरेको देखिएको र केहि दिन भित्रमानै सुधार नभएमा निर्माण कम्पनीको सवारी साधनहरु कब्जामा लिई सामान प्रयोग गर्ने र शसक्त अन्दोलन गर्ने तयारी भईरहेको नागरीक समाज दोलखाका अगुवा चिरञ्जीवि मास्केले बताउनु भयो ।

विरामीहरु हेलिकप्टर चार्टर गर्न वाध्य
राजधानी जोडिने एकमात्र सडक निर्माण अलपत्र परेका कारण जटिल प्रकारका विरामीहरु हेलिकप्टरको चार्टर गरी काठमाण्डौ उपचार गर्न जानुपर्ने बाध्यता रहेको छ । जिल्लामा आइसियु सहितको अस्पताल नभएको र जटिल रोगहरुलाई बाटोकै कारणले गर्दा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । हेलिकप्टर चार्टर गर्न नकक्ने सामान्य परिवारका विरामीहरु सडकका कारण राजधानी सुविधा सम्पन्न अस्पतालमा जान ढिला हुने कारणले ज्यान समेत जाने गरेको छ ।
भारतिय एक्जिम बैङ्कको झण्डै एक अरब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको सडक कै कारण पर्याटकिय जिल्ला दोलखामा पर्याटकको आगमनमा कमी हुनुका साथै दैनिक उपभोग्य वस्तुहरुको समेत मुल्य वृद्धि हुन थालेको छ ।