जानुका न्यौपाने
शैलुङ गाउँपालिका वडा नम्वर ७ फस्कु, स्थायी घर भएकी क्रमशः २२, १८, १६ र ८ वर्षका छोरीहरु पछिको सन्तान जन्माउने क्रममा ४५ वर्षिया शान्ति तामाङको सुत्केरी पछिको रक्तस्रावले झण्डै ज्यान गएको थियो । सामान्य प्रसुती बेथा लागेर नजिकैको स्वास्थ्य चौकीमा करिब विहानको ८ः०० बजेतिर पुगेकी थिइन शान्ती । र, दिउँसो ४ बजेतिर उनको छोरा जन्मियो । तर, साल झरेन र स्वास्थ्यकर्मीको केही प्रयास पछि साल नझरेपछि उच्च रक्तस्राब हुन लाग्यो ।

स्थानीय स्वास्थ्यकर्मीले अथक प्रयासका बाबजुद काठामाण्डौ जानुपर्ने सल्लाह दिए त्यसपछि आत्तिएर काठमाण्डौबाट हेलिकोप्टर मगाइयो । हेलिकोप्टर त आयो तर मौसमको खराबीका कारण बस्न सकेन र अन्तमा चरिकोट अस्पताल ल्याइयो । मौसम अनि बाटो असहजतका कारण चरिकोट अस्पताल आइपुग्दा लगभग बेलुकाको ८.३० बजिसकेको थियो । शान्ती तामाङको बच्चा जन्मिएपछि संगै झर्नु पर्ने साल अड्कनुका साथै अत्याधिक रक्तस्रावका कारण ज्यान जोखिममा पुगिसकेको थियो ।
सरसल्लाह गर्दा गर्दै अस्पताल आइपुग्न केही ढिला त भैसकेको थियो जे होस ८ः३० बजे चरिकोट अस्पताल आइपुग्नासाथ समस्याको सही पहिचान गरी मिनुयाञ्जी शेर्पा र रश्मी बासीको नेतृत्वमा MRP विधिबाट साल निकालियो र अत्याधिक रक्तस्राब भएका कारण रगत चढाएर उपचार गरी शान्ती तामाङको ज्यान बाँच्यो । नेपाल सरकार र न्याय हेल्थ नेपालको साझेदारीमा सञ्चालित चरिकोट अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र (चरिकोट अस्पताल) मा सुरक्षित प्रसुती सेवा दिनका लागि ७ जना दक्ष नर्सहरु छन् । जसमा जेनी श्रेष्ठ, प्रतिमा भट्टराई, उर्मिला चौलागाईं, तुलशा थापा, माया थापा, हेमा प्रधान, कविता चौलागाईं (Skill Birth Attendant SBA) नर्स र १ जना Advance Skill Birth Attendant ASBA) डा.अरुण उप्रेती र नर्सहरु छन् । जसले शान्ति तामाङको जोखिममा परेको ज्यान बचाउन सफल भयो । यसरी हेर्दा चरिकोट अस्पताल दक्ष नर्स मार्फत प्रदान गरिने गुणस्तरीय प्रसुती सेवाका कारण दोलखा जिल्लामा मातृ मृत्यूदर कम हुँदै गएको छ । यहाँ हरेक महिना लगभग एकसय जना भन्दा बढी महिलाहरुले तालिम प्राप्त दक्ष नर्सहरुबाट प्रसुती सेवा प्राप्त गरिरहेका हुन्छन् ।
गत श्रावण अर्थात् २०७६÷०७७ असार २९ गतेसम्म (१०८६) एक हजार छयासी जना महिलाले चरिकोट अस्पतालका तालिम प्राप्त दक्ष नर्स मार्फत प्रसुती सेवा प्राप्त गरेका छन् । जस मध्ये चिकित्सक र नर्सद्वारा शल्यक्रिया मार्फत १७३ जनाले सेवा लिएका हुन । यसको परिणामस्वरुप दोलखा जिल्लामा मातृ मृत्यूदर न्यूनिकरणमा महत्वपूर्ण योगदान पुगेको छ । अस्पतालका सम्पूर्ण सेवाहरु र आमा सुरक्षा कार्यक्रमलाई अस्पतालको सरकारी गरैसरकारी साझेदारी संरचना अनुसार डा. विनोद दंगाल, डा. तुलाकृष्ण गुप्ता र डा. रिना लामिछानेले गरेका छन् ।

यदि स्थानीय स्वास्थ्य संस्थामा सही प्रविधि र तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी हुने हो भने हरेक वर्ष हुने मातृ मृत्यूदर कम हुने थियो । साल अडकिएर मात्र मातृ मृत्यू हुने भने होइन तर, प्रसुति पछिको अत्याधिक रक्तस्राब भने मूख्य जोखिम हो । प्रसुती पछिको रक्तस्रावका कारण प्रति एकलाख सुत्केरी आमा मध्ये २३९ जनाले ज्यान गुमाउनु परेको तितो यथार्थ हाम्रो सामु अझै छ । यस्ता समस्याले गर्दा प्रत्येक वर्ष नेपालमा ७ लाख महलिाहरु बच्चा जन्माउँने मध्ये प्रसुती पछिको अत्याधिक रक्तस्रावका कारण एक हजार भन्दा बढी आमाहरुले ज्यान गुमाउने गरेका छन् । शान्ती त ज्यान बाँच्ने भाग्यमानी प्रतिनिधि पात्र मात्र हुन् । धेरै छन् यस्ता महिलाहरु जो समाजका लागि, परिवारका लागि छोरो जन्माउनु पर्ने बाध्यताका कारण ४ औ अनि पाँचौं सन्तान भइसक्दा पनि उमेर ढल्केर जोखिम हुँदासम्म जन्माइरहनु पर्ने बाध्यता अनि उच्च रक्तस्राब भएर ज्यान गुमाउनु पर्ने नियति नेपाली महिलाको । कहिले हट्ला यस्तो संकिर्ण सोच र बुझ्ला छोरीको महत्व ? यो आमा स्वयं, परिवार, समाज र नीति निर्माताहरुले पनि मनन गर्नुपर्ने सवाल हो ।
