हेफर प्रोजेक्ट नेपालले दोलखाका लम्पी स्किन प्रभावित पशुको उपचार गर्नका लागि आवश्यक औषधी हस्तान्तरण गरेको छ ।
विहीबार दोलखाको मेलुङ तथा तामाकोशी गाउँपालिकामा आयोजित फरक फरक समारोहमा उक्त औषधी हस्तान्तरण गरिएको हो । हस्तान्तरण समारोहमा हेफर प्रोजेक्ट नेपालका पशु विकास अधिकृत डा राजेन्द्र ढकालले दोलखा पनि अन्य जिल्ला जस्तै लम्पी स्किन प्रभावित भएकोले गाउँपालिकाको आग्रह अनुसार औषधी हस्तान्तरण गरिएको बताउनुभयो । लम्पीस्किन महामारी सुरु भएपछि गाँउपालिकाका निर्वाचित प्रतिनिधिहरु सहित स्थानीय सहयोगी संस्थाका प्रतिनिधि र हेफर प्रोजेक्ट नेपालका प्राविधिक सहितको टोली समुदायका घरघरमा पुग्दा पशुहरुमा देखिएको उच्च संक्रमणका कारण पशु औषधीको व्यवस्थापन गर्न उत्प्रेरणा मिलेको उहाँले बताउनुभयो । हेफर प्रोजेक्ट नेपाल मार्फत हेफर इन्टरनेशनलमा अनुरोध गरेपछि औषधी उपलब्ध भएको र उपलब्ध भएको औषधी गाउँपालिका तथा हेफर प्रोजेक्टको साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रम भन्दा बाहिरको भएको पनि डा ढकालले जानकारी दिनुभयो ।

औषधी हस्तान्तरणपछि मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार तामाङले हेफर प्रोजेक्ट नेपाललाई धन्यवाद ज्ञापन गर्दै पालिकाको आप्mनै सक्रियतामा संक्रमित पशुहरुको निरन्तर उपचार भइरहेको बताउनुभयो । संक्रमित पशुको उपचारको लागि करीव १३ लाखको औषधी खर्च भएको, गाँउपालिकाका पशु प्राविधिक तथा थप छ जना पशुप्राविधिकहरु एक महिनाको लागि करारमा व्यवस्था गरी संक्रमण नियन्त्रणमा लिएको तथा क्षति भएका पशुहरुका लागि के कति राहत दिन सकिने सम्बन्धमा पालिका तहमा छलफल भइरहेको समेत बताउनुभयो ।
हस्तान्तरण समारोहमा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी, कार्यपालिका सदस्यहरु, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराई तथा स्थानीय साझेदार संस्था सामुदायिक विकास मञ्च नेपालका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारी तथा परियोजना संयोजक फनिन्द्र चौलागाईं समेतको सहभागिता रहेको थियो । मेलुङ गाउँपालिकाको लागि १६ प्रकारका करीव तीन लाख रुपैयाँ बरावरको औषधी हस्तान्तरण गरिएको थियो । दोलखाको मेलुङ तथा तामाकोशी गाउँपालिकामा कृषि तथा पशु पालन मार्फत उत्पादन र उत्पादकत्व बृद्धि गर्न गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपालको साझेदारीमा मेलुङ कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना सञ्चालित छ ।
