परिवर्तन भन्ने शब्द धेरै सुनेको हुँ । तर, परिवर्तन भन्ने कुरा कसरी हुन्छ थाहा थिएन । सोचेको पनि थिन । कहिलेकाही यस्तो भईदिए हुन्थ्यो भन्ने सम्म चाहि सोच्थे । तर यत्ति धेरै परिवर्तन हुन्छ होला भन्ने चाहि सोचेको थिएन ।
कक्षा ६ मा पढ्दा स्कुलबाटै भागेर काठमाडौ जान चरिकोट आएको २५ वर्ष भईसक्यो । चरिकोटमा देखेको सडक, बिजुली, ठूलठूला घरहरु, पसल, होटल, गाडी, टेलिफोन मेरो गाउँमा पनि भईदिए हुन्थ्यो भनेर मनमनै सोच्थे । तार त रहेछ नि यसलाई तानेर घरसम्म लान पाए हुन्थ्योनि भनेर सोच्थे ।
१० वर्षे जनयुद्धमा म कहिले गाउँमा कहिले चरिकोट त कहिले काठमाडौ । सबैतिरको राम्रो अनुभव छ । त्यसताका माओवादी र सेना पुलिसको व्यवहार पनि प्रष्टै याद छ । हुन त बाध्यता होला । समाज, राष्ट्र परिवर्तनको लागि लडेका होलान । तर त्यसको प्रत्यक्ष प्रभाव सर्वसाधारण जनतामा परेको थियो । त्यसको मार ग्रामीण जनतामा परेको थियो । मैले आज यसतर्फ बयान गर्न खोजेन । सन्दर्भले विषय उठान भएको मात्र हो ।
१० वर्षे जनयुद्ध र २१ दिने जनआन्दोलन पश्चात गाउँमा हवात्तै परिवर्तन आएको महशुस सबैले गर्न सकिन्छ । सोचेजस्तो भाको छैन होला तर केही न केहीमा अवश्य परिवर्तन भएको छ ।
शिक्षाः कक्षा पाँच उतीर्ण भएपछि हलेश्वर माविमा पढ्न गएँ । जहाँ घरबाट १ घण्टा ४५ मिनेट खुरुरु हिड्दा मात्र पुगिन्थ्यो । त्यसको लागि बिहान ८ बजेदेखिनै जाने तयारीमा रहनुपथ्र्यो । अधिकांश समय बिहान १ भारी घाँस काटेर मात्र स्कुल जानुपथ्र्यो । कि त खाना पकाउनु पथ्र्यो । शनिबार दाउरा काट्न या खेतबारीको काम गर्नुपथ्र्यो । विदाको दिन त हो नि भन्ने महशुस कहिलेपनि हुँदैन थियो । शनिबार नुहाईधुवाई र कपडा धुएर आराम गरौला भन्ने सायद कमै दिन होला । दिउँसो खाजा कहिले मकै, गहुँ, रोटी हुन्थ्यो त कहिले केही पनि हुँदैन थियो । स्कुल छुट्टिएर बेलुकी घर पुग्दा थकाईले गृहकार्य गर्न सक्दैन थियो । गृहकार्य नगरेमा भोलिपल्ट हातमा लठ्ठीको सुम्लो बस्थ्यो । गालामा चट्कन खानुपथ्र्यो । सम्झिन्छु अहिले त्यस्ता दिन छैन । अहिले सम्झिदा म आफैलाई कथा जस्तो लाग्छ । अहिले माध्यमिक विद्यालय स्थापना भएको १३,१४ वर्ष भईसक्यो । मेरो घरबाट १५,२० मिनेटमै स्कुल पुग्न सकिन्छ । खाजा लानुपर्दै स्कुलमै क्यान्टिन छ । दिनमा आमा बाले २०,२५ रुपैयाँ टिफिन खर्च दिनुहुन्छ । साना साना बालबालिकालाई स्कुललेनै व्यवस्था गरेको छ खाजाको । झोला नभएर त्यत्तिबेला हातमा किताब कापी च्यापेर बोक्नुपथ्र्यो । अहिले विभिन्न संघसंस्थाले स्टेशनरी, व्यागको समेत व्यवस्था गरेको छ । त्यत्तिबेला झ्याल डोका हवाङ्गा हुन्थ्यो । हावाहुरी आउँदा चिसो र छाराधुलो पस्थ्यो अहिले पर्दाको समेत व्यवस्था छ । डस्टबिन, ऐना, शुद्ध पिउने पानी, टवाईलेटको व्यवस्था छ । उच्च शिक्षा हासिल गर्न समेत मेरो गाउँमै व्यवस्था छ । त्यत्तिबेला ढुंगामाटोको स्कुल हुन्थ्यो भने अहिले ढलन घरमा बस्ने व्यवस्था छ । पुस्तकालय, कम्प्युटरको व्यवस्था छ । कालोपाटीमा चकले लेख्नुहुन्थ्यो सरले अहिले हवाइटवोर्डमा मार्करले लेखेर पढाउनुहुन्छ । अझ ल्यापटप खोलेर प्रोजेक्टरबाट देखाउनुहुन्छ । गुगलबाट विभिन्न टिचिङ टेक्नोलोजीको प्रविधि भित्रेको भन्दै पढाउनुहुन्छ । देशको मात्र होईन बाह्य मुलुकको कथा जोड्नुहुन्छ । साप्ताहिक रुपमा विभिन्न अतिरिक्त क्रियाकलाप, अभिभावक भेला समेत गर्ने गरिन्छ । जसले विद्यार्थीमा हौसला बढाउने गर्छ ।
विद्युतः दिउँसो त बत्ती चाहिदैन थियो । तर रातको समयमा पढ्न होस या घरयासी कामको लागि होस मट्टितेलकै प्रयो हुन्थ्यो । सिसीमा सुलेतो हालेर मट्टितेल हालेपछि उज्यालो तर कालो धुँवाले नाकभित्र कालो छाउथ्यो । कालै खकार, थुक आउथ्यो । यसको विकल्प थिएन । मैनबत्ती तिहारमा मात्र प्रयोग हुन्थ्यो । रात्रीकालिन कार्यमा पनि यस्तै बत्तीको प्रयोग हुन्थ्यो । अलिअलि आर्थिक हैसियत व्यक्तिहरुले रात्रीकालिन कार्यमा पेट्रोलम्यासको प्रयोग गर्नुहुन्थ्यो । टिभी त हेर्नै पाईदैन थियो । रेडियो पनि व्याट्री हालेर सुन्नुपथ्र्यो । चामल या पिठोको लागि कि त पानीघट्ट, कि मिलको प्रयोग गर्नुपथ्र्यो । मिल पनि डिजेल हालेर चल्थ्यो । अहिले गाउँगाउँमा लघुजलविद्युतबाट सयौ किलोवाटको विद्युत निकालेको छ । अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको व्यवस्था भईसक्यो । अहिले विद्युतबाटनै खाना पकाउन र हिटर चलाउन थालेका छन् । गाउँ त झिलीमिली हुनेनै भयो । घरको वरिपरी बत्ती सजाएको छ ।
सडकः घरबाट किनमेल गर्न चरिकोट या दोलखा आउनुपथ्र्यो । गाडी चढ्न पाइदैन थियो । टाढैबाट गाडी देख्न पाउँदा पनि हेरिरहन्थे । घरजस्तै लाग्थ्यो । डर पनि लाग्थ्यो । अहिले गाउँमा मात्र होईन घर घरमै सडकको व्यवस्था छ । घण्टौसम्म कुरेर पनि गाडीकै यात्रा भईरहेको छ । सडकमात्र होईन, फराकिलो र ग्राभेलिङ सडक निर्माणको होडबाजी छ । कतिपय विद्यार्थीहरु अहिले पनि गाडी चढेरै स्कुल जान थालेका छन् ।
कृषिः चामलको भात खान कि त पाहुना आउनु पथ्र्यो कि चाडपर्वनै । बगडाको भात चाहि धेरै समय खाए । मीठो नहुने तर चामलको भात । ढिडो या रोटी देख्दा वाक्क लाग्थ्यो । तरकारी भनेको आलु हुन्थ्यो । चाडपर्वमा मासु । अहिले तरकारीबाली नै छ । वेमौसमी तरकारी उत्पादन हुन थालेको छ । बाह्रैमास हरियो सागपात खान पाईन्छ । त्यत्तिबेला खेती भनेकै धान, मकै, गहुँ, कोदो भन्ने बुझाई थियो । सिंचाईको व्यवस्था थिएन । नयाँ प्रविधिको प्रयोग थिएन । नयाँ खेती प्रणाली, कृषिको व्यवस्था थिएन । फलफुल लगाउने चलन थिएन । गाउँमै फल्ने मौसमीवाला नासपती, हलुवावेद, आरुबाख्रा जस्ता मात्र फलफुल खाने गरिन्थ्यो । जग्गा धेरै, मिहिनेत धेरै तर उब्जानी थोरै । अहिले ठ्याक्कै उल्टो भएको छ । अहिले गाउँमै पसल होटल छ । पसलमा समेत किनेर खाने मान्छेको हैसियत बढेको छ । चामल मात्र होइन, बासमती, मनसुरी चामल खोज्न थालेका छन् । तरकारी, फलफुल हप्ताहप्तामा किनेर थालेका छन् । घर नजिकै ब्वाईलर कुखुराको मासु पाईन्छ ।
स्वास्थ्यः स्वास्थ्य नै धन हो । यसैलाई मनन गरेर हस्पिटललगायत स्वास्थ्य संस्थाहरु सञ्चालन गर्न थालेका छन् । पहिला एकजना अहेव या ग्रामीण स्वास्थ्य कार्यकर्ताको भरमा स्वास्थ्य संस्था चल्थ्यो । भनेको समयमा सिटामोल, एमजिट नपाउने अवस्था थियो । अहिले सानातिना रोगहरु गाउँमै उपचार गर्न थालेका छन् । दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुको दरबन्दी छ । प्रशस्त मात्रमा औषधीको व्यवस्था छ । टाउको दुखेमा या सामान्य बिसन्चो हुनसाथ उपचार गर्न थालेका छन् । राम्रा राम्रा हस्पिटलमा उपचार गर्नुपर्छ भन्ने बुझाई छ ।
लेखक जीवन लामा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष हुनु हुन्छ ।