दर्पण संवाददाता
चरिकोट, ४ फाल्गुण
लामो समय देखि अलपत्र रहेको खाडिचौर चरिकोट सडक निर्माणमा ठेकेदार कम्पनीले समयमा काम नगरेको भन्दै आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।
सडक निर्माणका लागि पटक पटक आग्रह गरी समय थप गर्दा समेत विभिन्न वहाना बनाई समयमाकाम नगरेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई जिल्लाका नागरीक समुहहरुले ज्ञापन पत्र बुझाएका हुन । दोलखा जिल्लाको लाइफलाइन मानिने खाडिचौर चरिकोट सडक खण्ड विगत ५ वर्षदेखि अलपत्र रहेको छ । समयमा सडक निर्माण नगरी ठेकेदार कम्पनीले आम नागरिक संग प्रत्यक्ष सरोकार राख्ने सडक अलपत्र पारी नागरिकहरुको दैनिकीमाथीनै खेल्वाड गरेको भन्दै दोलखाका नागरिकले पटक पटक आन्दोलन गर्दै आई रहेका छन् । चरिकोट खाडिचौर सडकमा ढिलासुस्ती विरुद्ध आम नागरिक खवरदारी अभियान संचालन भई चरणवद्ध आन्दोलन भए पश्चात लामोसंघु जिरी सडक सुधार आयोजनाको पहलमा सिन्धुपाल्चोकको मुडेमा निर्माण कम्पनी र अन्दोलन पक्ष विच भएको सहमतीमा निर्माण कम्पनीले पुस मसान्त भित्र ग्राभेल गरि सक्ने र फाल्गुन दोस्रो साताबाट कालोपत्रेको काम सुरु गर्ने सम्झौता भएको तर सम्झौता अनुसार निर्माण कम्पनीले काम सुरु नगरे पछि पुन आन्दोलन गर्न लागेको नागरिक समुहका अगुवा चिरञ्जीवी मास्केले बताउनु भयो । ज्ञापनपत्र वुझनुहुँदै प्रमुख जिल्ला अधिकारी शर्माले सडक निर्माणका लागि पहल गर्ने बताउनु भयो ।

दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी लामोसाँगु मूडे सडक खण्ड अन्र्तगत ० किमी देखि २५ किमीसम्म लामोसाँगु मूडे सडक खण्डको काम सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले र २५ किमी देखी ५५ किमीसम्म मूडे चरिकोट सडक खण्डको काम शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले जिम्मा लिएको थियो । लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रम अन्र्तगत लामोसाँगु मूडे २५ किलोमीटर सडक विस्तार र मूडे चरिकोट ३० किलोमीटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुबै कामको सम्पन्न अवधि दुई बर्षको थियो । तर सम्पन्न अवधि सकिएर तिन बर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति हुन सकेको छैन ।
