मन्त्री गुरुङ र पुनद्वारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकण

दर्पण संवाददाता
लामावगर, ९ चैत्र
माननीय ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्री श्री वर्षमान पुन सहित माननीय मन्त्री पार्वत गुरुङले आफ्नो जिल्लामा निर्माणाधीन राष्ट्र गौरबको आयोजना ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज स्थलगत भ्रमण गर्नु भएको छ ।

मन्त्री द्वोयले आयोजनाको जलाशयमा पानी भरी बाँध र इन्टेक लगायतका संरचनाहरु तथा गेट र स्टपलगहरुको भइरहेको प्राविधिक परीक्षणहरुको अवलोकन गर्नु भएको थियो । चैत ३ गतेदेखि पानी भर्न सुरु गरिएको आयोजनाको जलाशयमा पुरा क्षमतामा पानी भरिइसकेको र भ्रमणमा जलाशय र गेटहरुको सञ्चालन कार्य्विधि लगायत अन्य प्राविधिक परीक्षणहरुको बारेमा जानकारी लिनुभएको थियो । जलाशय, बाँध, इन्टेकको परीक्षण सफल हुँदै गएकोमा मन्त्री द्धोयले खुसी व्यक्त गर्नु भएको थियो ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य आगामी २०७७ असार साउन महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आगामी २०७७ असोज कात्तिक महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाले जनाएको छ । स्थायिनको लागतमा निर्माण भई रहेको यो आयोजना हालसम्मकै सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । स्थलगत अवलोकनपश्चात् आयोजनाको मुख्य कार्यालय गोंगर, दोलखामा उपस्थित आयोजनाका पदाधिकारीहरु, परामर्शदाता र ठेकेदारहरुका प्रतिनिधिहरुसँग भएको संयुक्त बैठकमा मन्त्री गुरुङले आयोजनाको कार्य प्रगति सन्तोषजनक रुपमा अघि बढेको बताउनु हुँदै आयोजनाको अन्तिम चरणमा क्रिटीकल समस्याहरु आउने र सो को समाधानको लागि अन्तिम सम्मै मेहेनतका साथ लाग्न आयोजना पक्षलाई आग्रह गर्नुभयो ।

बैठकमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विज्ञान प्रसाद श्रेष्ठले आयोजनाको कार्य प्रगतिको बारेमा जानकारी गर्नुभएको थियो । आजको भ्रमणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली र प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार ई. गजेन्द्र थपलिया समेतको सहभागिता रहेको थियो ।