दर्पण संवाददाता
चरिकोट, २३ मङ्सिर
भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा आज चरिकोटमा खुल्ला कविता वाचन प्रतियोगिता भएको छ ।
देशलाई भ्रष्टाचार मुक्त गराई सुसाशन कायम गराउने उदेश्यलेले दोलखामा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको हुराडेक नेपाल दोलखा, मानब अधिकार संगठन र विष्णु लक्ष्मी साहित्य पुरस्कार समितिले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमा दोलखाका कविहरुले भ्रष्टाचारको विरुद्धमा आफ्नो कृतीहरु बाचन गरेका थिए । कविताको माध्यमबाट भ्रष्टाचार सम्बन्धी जानकारी गराउने र देशमा सुशासन कायम गर्ने उदेश्यले खुल्ला कविता वाचन कार्यक्रमको आयोजना गरिएको हुराडेक नेपाल दोलखाका उपाध्यक्ष उद्धव पोखरेलले बताउनु भयो ।
कार्यक्रमा भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले भ्रष्टाचार कम हुँदै गए पनि नीतिगत रुपमा भ्रष्टाचार बढ्न लागेको भन्नु हुँदै त्यस्ता समस्या नीतिगत रुपमानै समधान गर्नु पर्ने बताउनु भयो । देशमा दुई तिहाइको सरकार बनेको अवस्थामा देशलाई भ्रष्टाचार मुक्त बनाउन सवै क्षेत्रबाट लागि परेकोले भिमेश्वर नगरपालिका भित्र कुनै सेवा सुबिधा लिनको लागि कुनै कर्मचारीले घुस मागेमा आफुलाई जनाकारी गराउ आग्रह गर्दै त्यस्ता कर्माचारीलाई कानुनी दायरामा ल्याई कार्वाही गर्ने बताउनु भयो ।
खुल्ला कविता बाचन प्रतियोगितामा कवि रविन्द्र ढुंगेलले बाचन गर्नु भएको कविता प्रथम, कवि राजन वस्नेतले बाचन गरेको कविता द्धितिय, कवि यूवराज ढुंगेलले बाचन गर्नु भएको कविता तृतिय र कवि धनराज तामाङले बाचन गर्नु भएको कविता सान्तोना भएका थिए ।