भीमेश्वरका मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी तालिम सञ्चालन

भीमेश्वर नगरपालिकामा सूचिकृत मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम बुधबार चरिकोटमा सम्पन्न भएको छ ।

तालिममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक कमला बस्नेतले मेलमिलापकर्ताहरु न्यायिक समितिको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुहुँदै निरन्तर रुपमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट गर्नुपर्ने कामहरु गर्न आफू तयार रहेको बताउनुभयो ।

त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले मेलमिलापकर्ताले निष्पक्ष रुपमा काम गरेर मेलमिलापप्रति विश्वास बढाउन आग्रह गर्नुभयो । उहाँले मेलमिलापकर्ता र मेलमिलाप केन्द्रलाई प्रशासनिक हिसाबले आफूले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
भीमेश्वर नगरपालिकाको सहयोगमा दीपज्योति समाज सुधार संस्थाले सञ्चालन गरेको तालिममा नगरपालिकाका प्रत्येक वडाबाट २ जनाका दरले १८ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिममा सामुदायिक मेलमिलापकर्ता समाज, नेपाल दोलखा शाखाका अध्यक्ष तथा मेलमिलाप तालिमका राष्ट्रिय प्रशिक्षक तारा बहादुर महत, प्रशिक्षकहरु नारायण प्रसाद सेढाँई, डम्बर प्रसाद ओली तथा दोलखा जिल्ला अदालतका स्रेस्तेदार अञ्चन भट्टराई लगायतले सहजीकरण गर्नुभएको थियो ।

यसअघि मेलमिलाप सम्बन्धि आधारभूत तालिम लिएर काम गरीरहेका सूचिकृत मेलमिलापकर्ताहरुका लागि वैशाख १५ गतेदेखि तालिम सञ्चालन भएको हो ।