दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ५ वडा कार्यालयले वडामा रहेका महिलाहरुलाई अटो टेम्पो चलाउन सिकाउन थालेको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ५ वडा कार्यालयले चालु आर्थिक वर्षको महिला उद्यमी तथा क्षमता विकास कार्यक्रम अन्र्तगत महिलाहरुको लागि अटो टेम्पो चलाउने तालिम आजबाट संचालन गरिएको वडा अध्यक्ष वासु श्रेष्ठले बताउनु भयो ।
अटो चलाउने तालिमका लागि वडा भित्रका २३ जना महिला महिलाहरु छनोट भएका छन् । छनोट भएका महिलाहरुलाई २५ दिन सम्म अटो टेम्पो चलाउने तालिम दिने अध्यक्ष श्रेष्ठले बताउनु भयो । पहिलो चरणमा स्कुटर मोटरसाइकल सिकाउँदै आटो टेम्पो चलाउन सिकाइने र २५ दिन भित्र तालिम प्राप्त दक्ष बनाईने तयारी रहेको उहाँले बताउनु भयो । लक्षित वर्ग अन्र्तगत महिलाहरुका लागि वडा कार्यालयले विनियोजन गरेको रकम मध्येबाट महिलालाई उद्यमी बनाउने र रोजगारमुलक सिप प्रदान गर्ने उदेश्यले सो तालिम कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । तालिम भिमेश्वर नगरपालिकाका उप प्रमुख कमला वस्नेतले उदघाटन गर्नु भएको थियो । तालिम कार्यक्रमको उदघाटन गर्नुहुँदै उपप्रमुख कमला वस्नेतले वडा तथा नगरपालिकाले लक्षित वर्ग अन्र्तगत महिलाहरुको क्षत्रमा विभिन्न कार्यक्रहरु संचालन गरि रहेको र सिप सिकी हरेक महिलाहरु आत्मानिर्भर वन्नुपर्ने र उत्पादनको क्षत्रमा लाग्नुपर्ने बताउनु भयो ।
भिमेश्वर नगरपालिका वडा नम्वर ५ ले प्रत्येक वर्ष नयाँ नयाँ कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । यस आर्थिक वर्षमा वडाले उक्त लक्षित वर्ग अन्र्तगत ३ लाख बजेट विनियोजन गरेको र सो रकमबाट महिलाको लागि टेम्पो चलाउने तालिम, मुडा बनाउने तालिम, क्षमता विकास अन्र्तगत उदघोषण तालिम, पन्चेबाजा अन्र्तगत सनाई बजाउने तालिम संचालन गर्ने तयारी भई रहेको वडा अध्यक्ष वासु श्रेष्ठले बताउनु भयो ।
