दर्पण समचार दोलखा बैशाख १२ भिमेश्वर नगरपालिका दोलखाका प्रमुख भरत के।सी विपन्न परिवारकी एक बालिकाको अभिभावक वन्नु भएको छ ।
विपन्नताका कारण विद्यालय पढ्न समस्या भोगिरहेकी भिमेश्वर नगरपालिका वडा न ५ किराँतीछापकी ६ वर्षकी वालिकालार्ई वुढाभिमसेन मावि धरमघरमा भर्ना गर्दै अभिभावकत्व ग्रहण गर्नुभएको हो । विद्यालय भर्ना अभियान तथा निशुल्क पोशाक वितरण कार्यक्रममा सहभागी हुनुभएका प्रमुख केसीले नगरपालिकाले प्रदान गरेको पोशाक हस्तान्तरण गर्दै पठनपाठनको जिम्मेवारी लिएको उद्घोष गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख केसीले विद्यालय भर्ना अभियानको महान कार्यमा साथ दिन सवैसंग अनुृरोध समेत गर्नुभयो ।
कार्यक्रममा भिमेश्वर नगरपालिका ५ का वडाध्यक्ष रामचन्द्र वस्नेतले शिक्षाको माध्यमवाट मात्रै नगरको सम्वृद्धि सम्भव भएको भन्दै सवै पक्षले आप्नो क्षेत्रमा रहेर दायित्व निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक विद्यालयमा बालबालिकाको सहभागिता वृद्धिका लागि महत्वपुर्ण भुमिका शिक्षकको रहनेभन्दै गुणस्तरीय शिक्षाको आवश्यकता समेत औल्याउनुभयो । यसैगरी कार्यक्रममा भिमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख अर्जुन कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबाबु कँुवँर,नगरकार्यपालिका सदस्य रुपा भुजेल लगायतले सरकारले सञ्चालन गरेको भर्ना अभियान सफल वनाउन सवैले जिम्मेवारी वहन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
एक वच्चाको भर्ना मेरो सामाजिक दायित्व,पहुँचको सुनिश्चितता र सिकाइमा स्थायीत्व भन्ने मुल नाराका साथ वैशाख १ देखि शुरु भएको भर्ना अभियान अन्तरगत नगरमा रहेका ४६ सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको छ । हामी सवैको ईच्छा,निशुल्क र अनिवार्य शिक्षा भन्ने नारासहित भिमेश्वर नगरले विभिन्न विद्यालयमा भर्ना अभिभावकत्व ग्रहण सहितको भर्ना अभियान र कक्षा ५ सम्मका सामुदायिक विद्यालयका बालबालिकालाई पोशाक वितरण गरिरहेको छ ।