भिमेश्वर नगरपालिकाको सातौ नगर सभा : नीति तथा कार्यक्रम सहित ८८ करोडको वजेट सभामा प्रस्ताव

भिमेश्वर नगरपालिकाको सातौ नगर सभा आजबाट सुरु भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ८८ करोड भन्दा बढी रकमको बजेट तथा कार्यक्रम आज नगरसभामा प्रस्ताव गरेको छ ।

नगर उपप्रमुख कमला बस्नेतले आगामी आर्थिक बर्षका लागि ८८ करोड ६ लाख ७ हजार रुपैयाँ बरारबरको बजेट तथा कार्यक्रम मङ्गलबार नगरसभामा पेश गर्नुभएको हो ।

पेश गरिएको बजेटमध्ये भौतिक पूर्वाधारमा १५ करोड ४३ लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा १२ करोड ११ लाख २० हजार, वडाबाट प्रस्तावित योजनामा ८ करोड, सामाजिक विकासमा ३ करोड ३१ लाख ८० हजार र आर्थिक विकासमा १ करोड ३७ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यसैगरी सङ्घीय तथा प्रदेश सरकारको सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानतर्फ ४४ करोड ६८ लाख ५७ हजार रुपैयाँ तथा वित्तिय व्यवस्थापनतर्फ २ करोड ३७ लाख र विशेष कोषतर्फ ७७ लाख रुपैयाँ गरी कुल ८८ करोड ६ लाख ७ हजार रुपैयाँ विनियोजनको प्रस्ताव गरिएको छ ।

विनियोजित बजटमध्ये आन्तरिक स्रोतको हिस्सा ९.३९ प्रतिशत अर्थात ८ करोड २७ लाख ५८ हजार ६ सय ४३ रुपैयाँ रहेको नगर उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो ।

नगर प्रमुख इश्वर नारायण मानन्धरको सभापतित्वमा संचालन गरिएको नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अधिकांश अघिल्ला बर्षका कार्यक्रमलाई निरन्तरता दिईएको छ ।