२९ असार : आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा भानु–विद्यापति साहित्यिक पुरस्कार–२०७९ बाट दोलखाका कवि मान बहादुर खड्का पुरस्कृत हुनुभएको छ ।
भानु–विद्यापति साहित्य प्रतिष्ठान दोलखाले आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको अवसरमा चरिकोटमा आयोजना गरेको एक कार्यक्रममा कवि खड्कालाई पुरस्कृत गरिएको हो । निजामती सेवामा आवद्ध भएतापनि लामो समय देखि दोलखा जिल्लामा वसी जिल्लाको साहित्यक क्षत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै प्रतिष्ठानले कवि खड्कालाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित पुरस्कृत गरेको हो । कवि खड्कालाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी र भिमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानान्धरले प्रमाणपत्र र नगद सहित सम्मान गर्नुभएको थियो । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपसचिव स्तरका निजामती कर्मचारी कवि खड्का कविता लेखनमा अब्बल मानिनुहुन्छ । कवि खड्काले विभिन्न कविता संग्रहहरु प्रकाशित गरि सक्नुभएको छ ।

कार्याक्रमको अवसरमा दोलखा साहित्यक यात्रा भाग ३ साहित्यक पुस्तक समेत विमोचना गरिएको छ । दोलखाकोे विभिन्न क्षत्रहरुलाई समेटेर गित, कविता, मुक्तक, कथालाई समेटेर प्रकाशन गरिएको सहित्यक पुस्तक दोलखा साहित्यक यात्रा भाग ३ विमोचन गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीकै अवसरमा भान–विद्यापति साहित्य प्रतिष्ठानले रामायण वाचन प्रतियोगिताको समेत आयोजना गरेको छ । रामायण वाचन बालबालिका र वयस्क तथा जेष्ठ नागरिकहरुबिच छुट्टाछुट्टै प्रतिस्पर्धा गराईएको थियो । रामायण वाचन प्रतियोगितामा बालबालिकातर्फ बुढाभिमसेन मावि धरमघरकि छात्रा ज्योत्सना विकको समूह प्रथम, कुटीडाँडा मावि मकैबारीकी छात्रा सोनि खड्काको समूह दोश्रो , बुढाभिमसेन माविकै छात्रा सुधिका विकको समूह तेश्रो र कुटीडाँडा माविकी छात्रा जिज्ञासा सुवेदी सान्त्वना हुनुभएको छ । कार्यक्रममा बैतेश्वर गाउँपालिका नाम्दुका ८९ बर्षिय गौरीकान्त ढुङ्गेल, भीमेश्वर नगरपालिका बोचका ८२ बर्षिय गंगाधर रेग्मी र ६४ बर्षिया रामकेशरी चर्मकार लगायतले रामायण वाचन गर्नुभएको थियो ।