दर्पण संवाददाता
चरिकोट, असोज २४
बेलायत बस्ने नेपाली हरुले जिल्ला विपद व्यवस्थापन समिति दोलखालाई अक्सिजन सहयोग गरेको छ ।
दोलखा कालिञ्चोक गाउँपालिका वडा ९ स्थायी ठेगाना भइ हाल वेलायत बस्दै आएका लक्ष्मण चिमोरियाको पहलमा दोलखा जिल्ला विपद व्यवस्थापन समितिका लागि अक्सिजन सहयोग गरेको हो ।
नेपाल पत्रकार महासंघ दोलखाको समन्वयमा जिल्ला ल्याइएको उक्त सामग्री शनिवार विहान एक कार्यक्रममा बीच जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई महासंघका अध्यक्ष जीवन लामाले हस्तान्तरण गर्नु भएको थियो । स्वदेशमा परेको विपत्तीमा विदेशमा रहेका नेपालीले सहृदयतापूर्वक सघाएको भन्दै प्रमुख जिल्ला अधिकारी शिवाकोटीले धन्यवाद प्रकट गर्नुभयो । विदेशी भूमीमा रहेर दुःख र मेहेनतका साथ जिल्लाका लागि अक्सिजन सहयोग गरी प्राण वायुको रक्षार्थ सहयोग गरेको अक्सिजन विपदको समयमा उपयोगी भएको वताउनुभयो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको लागि उपयोगी होस् भन्ने उद्देश्यले अक्सिजन सहयोग जुटाएको समन्वयकर्ता लक्ष्मण चिमोरियाको भनाई छ । सतप्रतिशत अमेरिकामा बनेको न्युमो लाइट अक्सिजन विजुलीको सहायताले १ मिनेटमा ५ लिटर अक्सिन उत्पादन गर्ने क्षमता रहेको बताइएको छ ।