प्रिय याद !
ईस्वरसँग तिम्रो सुस्वास्थ्यको कामना गरुँ भने
अघिल्लो कवितामा मैले
मेरो ईस्वर लिलाम गरिसकेको छु-
मलाई माफ गर
म यहाँ आरामै छु भनूं भने पनि
शरिरको हिज्जे मिलेको छैन
यति बेला म भित्र
एउटा गह्रौं पहाड अग्लिरहेको छ
मनको बादल पग्लिएर
ठाउँ ठाउँमा मुल फुटेका छन
पहाडको नदेखिने कुनाबाट
पहिरो खसिरहेको छ अलि अलि गरेर
ढुङ्गा झरिरहेको त्यही पहिरो मुन्तिर बसेर
लेखिरहेको छु यो प्रेमपत्र तिमिलाई
मैले भनिहालें नि !
म भित्र एउटा गह्रौं पहाड अग्लिरहेको छ
र म हलचल बिना नै पर्खिरहेको छु तिमिलाई
प्रिय याद !
जब जब म एक्लै हुन्छु-
तिमी आईरहन्छ्यौ
वासमा निवासमा
मैले फेरेका हरेक सासमा
साँझको जुनेलिमा-
आमाको जस्तै छाँया बनेर
रातको अँधेरिमा-
प्रियाको जस्तै माया बनेर
तिमी आईरहन्छ्यौ
प्रिय जीवन !
जति बेला मेरो बैँस म सँगै थियो
तिमी र म सँगै बग्थ्यौं ।
युगौं देखि एक अर्कालाई हेर्दै
कुरि बस्ने दुई किनारहरुलाई छोडेर
मृत्युशैयामा निदाईरहेको
चिसो बगरलाई वास्तै नगरी
हामी नदि भएर बग्थ्यौं ।
जति बेला मेरो उनेर म सँगै थियो
हामी सँगै उड्थ्यौं ।
सागर देखि उठेर
एक्लै धुमधुम्ती उंघिरहेको बैरागी पहाडलाई
सञ्चोबिसञ्चो सोद्धै नसोधी
माथी धेरै माथी आकाशमा
बादल भएर उड्थ्यौं ।
टिलपिल ताराहरु छोपिदिन्थ्यौं
टहटह जून लुकाईदिन्थ्यौं
जति बेला जवानी सँगै थियो
प्रिय याद !
यति बेला म
नदिले छोडेर गए पछिको
त्यही चिसो बगर भएको छु
बादलले छोडेर गए पछिको
त्यही बैरागी पहाड भएको छु
र हलचल बिना नै पर्खिरहेको छु
तिम्रा यादहरु